Sajhamanch Archive

झापाको पाठामारीमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । सशस्त्र प्रहरीले झापामा १० औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सरकारको स्वीकृत बमोजिम यसबर्ष प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने योजना बमोजिम सशस्त्र प्रहरीले जिल्लाको कचनकवल गाउँपालिका वडा नं.५ स्थित पाठामारीमा बिओपी स्थापना गरेको हो ।

पाठामारीमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको सोमबार एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उदेश्य राखेर सशस्त्र प्रहरीलाई तैनाथ गर्ने सरकारको लक्ष्य रहेको प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीधर दाहालले बताए । यस वर्ष२२ वटा बिओपी स्थापना गर्नु पर्नेमा पाँच वटा स्थापना भइसकेको उनले बताए ।

कचनकवल गाउँपालिकाले पाठामारी बजार क्षेत्रको सरकारी जमिनमा अस्थायी रुपमा बोर्डर आउट पोष्ट निर्माण गरि दिएको हो । ५० जना सशस्त्र प्रहरी अटाउने क्षमता भएको टिनाले बनाएको तीन वटा टहरा गाउँपालिकाले आफ्नै लगानीमा बनाइदिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्ने, सीमा अतिक्रमण र अवान्छित गतिविधि रोक्ने सरकारको निती अनुसार जिल्लामा बिओपी स्थापना भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । यसले जिल्लाको शान्ति सुरक्षाथ  मजबुत हुने उनको भनाई छ ।

प्रहरी निरीक्षकको कमाण्डमा पाठामारी बिओपीमा ५० जना सशस्त्र प्रहरी तत्काल खटाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी रमेश कुमार पाण्डेले बताए । उनका अनुसार १४४ दशमलव २ किलोमिटर खुल्ला सिमा क्षेत्रमा १८ वटा बिओपी यस बर्ष स्थापना गरिने छ । जसमा १० वटा स्थापना भएका छन । अब ज्यामिगढी, तिरिङ, नकलवन्दा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा बिओपी स्थापना हुने एसपी पाण्डले बताए ।

उक्त कार्यक्रममा कचनकवल गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष महेशलाल गणेश, प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल ३८ गण हे.क्वा. का दमकका एसपी सुभाष भण्डारी, डिएसपी प्रेम भण्डारी लगायतको उपिस्थती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *