Sajhamanch Archive

हरेक १० मा एकजना कोरोना संक्रमित भएको हुन सक्छः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by .

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाएको छ। डब्लुएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो । संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् ।

डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।

महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन । धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।एजेन्सी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *