Sajhamanch Archive

दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ ।

दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ र तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यपार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । ‘दशैं लागे पनि ब्यापार छैन तर होलसेलले मूल्य बढाएका छन् हामी पनि मारमा परेका छौँ,’ महासचिव तुलाधरले भने ।

लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको खुद्रा ब्यापारी ध्रुव अधिकारीले बताए । पहिले एक लिटर तेलका लागि १५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १६३ रुपैयाँ नघाएको उनको भनाइ छ । यस अघि २५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २६५ सम्म पुर्‍याइएको संघले जनाएको छ ।

तेलको प्याकेटमा एमआरपी २७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ पनि दसैँको पूर्वसन्ध्यामा लिटरमै पाँच रुपैयाँ बढेको छ ।

मासको कालो दाल प्रतिकिलो १३५ बाट बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै मुसुराको रातो दाल किलो मै १० रुपैयाँले बढेको खुद्रा व्यपारीहरुले बताएका छन् । केही समयअघि एक सय २२ रुपैयाँमा पाइने उक्त दालको प्रतिकलो मूल्य १३२ रुपैयाँ पुगेको छ । फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि बिस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरु बताउँछन् ।

तर नेपाल तेल, दाल, चामल संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । ‘तेल, दाल, गेडागुडीको मूल्य केही बढेकै हो तर चामलको मूल्य भने घटेको संघका अध्यक्ष सुबोध गुप्ता बताए ।

नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा परेको अरि नेपालमा देखिएको संघले जनाएको छ । पहिले १५ सय बोरामा बिक्री हुने चामलको भाउ भने १३ सयमा झरेको अध्यक्ष गुप्ताले बताउँछन् ।

अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *