स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनका लागी तीनवटा ट्रेड युनियनको माग
Published:
by .बिर्तामोड । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन र अनुगमन गर्नुपर्ने माग राख्दै मजदुरसम्वद्ध तीनवटा ट्रेड युनियनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
ट्रेड युनियनका नेताहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालय र विर्तामोड नगरपालिकामा उक्त माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इञ्चार्ज भूपाल सापकोटा, ट्रेड युनियन महासंघ(जिफण्ट) प्रदेश नं. १ उपाध्यक्ष सन्तकुमार राई, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउन समाप्त भई सवै क्षेत्र खुलेर मानिसको भीडभाड वढेसंगै कोरोना भाइरसको संक्रमणको दर समेत बढेको र यस्तो अवस्थामा नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम् रुपमा समेत पालना नगरेको पाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम् रुपमा समेत पालना नगरेकै कारण कोरोना भाइरसको संक्रमणको जोखिम वढाएको कारण उक्त विषयवारे प्रदेश सरकार, स्थानीय सरकार ,संघीय सरकार र स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ ।
कोभिड –१९ संक्रमणको सवैभन्दा जोखिममा श्रमिक वर्ग परेको र लकडाउनको वेला सरकार र सामाजिक संघसंस्थाले उपलव्ध गराएको खाद्यान्नले केही राहत महसुस गरेपनि लकडाउन लम्विएसंगै एक छाकमात्र खाएर परिवारको पेट पाल्दै रोगसँंग लड्दै आएका उनीहरु खाद्यान्न सकिएपछि कामको खोजी गरेर रकम आर्जन गर्न उद्योगधन्दा व्यापार –व्यवसाय खुलेसँगै काममा फर्किएको ज्ञापन पत्रमा उल्लेख छ ।
तीनवटा ट्रेड युनियनको ज्ञापन पत्र वुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले उक्त माग कार्यान्वयन गराउन लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।
Comments