Sajhamanch Archive

नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाण्डौ । नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमकाअनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र रुपन्देही तिलोत्तमा ३ की ६६ वर्षकी महिलाको दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो ।

यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जनाको ज्यान गएको छ । सुनसरीको दुहवीका ६४ वर्षका पुरुष र धनकुटाकी ६१ वर्षकी महिलाको आज बिहान ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धरान-८ की एक महिलाको गएराति ज्यान गएको छ । यसैगरी बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ की ७१ वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै भरतपुर महानगरपालिका वडा नं १ की ७५ वर्षकी वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भएकी उनको अस्ति पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *