Sajhamanch Archive

यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विगतको दशैँमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही अवस्था रहेमा अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नपर्ने महानिर्देशक हमालको भनाइ छ ।

उनले आवश्यक परिहालेमा घटस्थापनाको एक/दुई दिनपछि मात्रै खोल्ने बताए । घटस्थापना आउन अब पाँच दिन मात्र बाँकी छ । गएको वर्ष यात्रुको चापका कारण अरु रुटमा चल्ने गाडीसमेत ल्याएर बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो । तर यसपालि चलेका गाडीलाई नै यात्रु नपुगेको उनले बताए ।

पहिला दशैँमा घर जाने विद्यार्थी धेरै हुन्थे । तर अहिले स्कुल, कलेज, विश्वविद्यालयमा खासै पठनपाठन नभएको र विद्यार्थीहरु अगाडि नै घरगाउँ गइसकेका छन् । एउटा रुटमा चल्ने १० वटा गाडीमध्ये २ वटा गाडीलाई नै यात्रु नपुगेको अवस्था रहेको उनले बताए ।

यातायात व्यवसायीले पनि यात्रु नपाएको बताउँदै आएका छन् । गएको वर्ष दशैँका बेला २० लाखभन्दा बढी यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले सामान्य तरिकाले चलेका गाडीले पनि पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गएको शुक्रबार यातायात व्यवस्था विभाग यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र पालिकाका प्रतिनिधि बसेर छलफल गरे पनि टिकट बुकिङ खुलाउनुपर्ने पक्षमा कोही नरहेको विभागले जनाएको छ।

                                                                                                            स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *