के यो वर्ष दशैंमा टिका नथाप्नु !
Published:
by .विर्तामोड । नेपालीहरुको महानचाड बडादशैं संघारमा नै आइसकेको छ । अघिल्ला वर्षहरुमा यो समयमा गाउँ शहर सबैतिर दशैँको रमझम शुरु भइसक्थ्यो । गाउँघरमा पिङ हाल्नेदेखि घर सरसफाई गर्ने, डेकोरेशन गर्ने, किनमेल लगायतका काममा सबै व्यस्त हुने गर्थे । व्यापार व्यवसायका शिलसिलामा टाढा पुगेका छोराछोरी अनि आफन्तहरु दशैँ मान्न गाउँघर फर्किसक्थे भने कोही फर्कने क्रममा हुन्थे ।
पर्व भनिसक्दा मनमा रौनकता छाउँछ । झन् दशैँ त नेपालीहरुको महानचाड । खुसी नलाग्ने कुरै भएन । दशैँ शब्दले मनमा छुट्टै किसिमको आनन्दको अनुभूति, भिन्न खुसी र सुख प्रदान गर्दछ । दशैँले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले चाडपर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अझ केटाकेटीहरुका लागि त दशैँ कति रमाइलो हुन्छ । दशैँ सकिने बित्तिकै अर्को दशैँ कहिले आउँछ भनी औंला गन्दै बस्ने गर्छन् ।
तर, यसपालीको दशैँ अहिलेसम्म हामीले मनाएका दशैँहरु भन्दा धेरै फरक रहनेछ । कारण तपाइँ हामी सबैलाई थाहा भएकै कुरा हो । कोरोनाको कहरले यो वर्षको दशैँ खल्लो अनि फिक्का बन्दैछ । विश्वभर कोरोना माहामारी फैलिइरहेको छ । सरकार र नागरिकको लापरवाहीले संक्रमित तथा ज्यान गुमाउनेहरुको संख्या नेपालमा पनि दिनानु दिन बढिरहेको छ । आम नागरिक यो भाइरसलाई लिएर त्रसित छन् । विकसित देशहरुले भ्याक्सिन बनाउने सफलता प्राप्त गरिसकेका छन् । तर अहिलेसम्म भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले औपचारिक मान्यता दिएको छैन । कहिलेसम्ममा मान्यता पाउने हो र हाम्रोजस्तो गरिब देशले उपभोग गर्न पाउने हो, कसैलाई थाहा छैन ।
एकातिर कोरोना कहर अर्कातिर चाडपर्व अनि महङ्गी त छँदैछ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई आधार मान्ने हो भने यसवर्ष दशैँ घरमै मनाउनु पर्नेछ, सकेसम्म घर बाहिर मान्यजनको आशीर्वाद लिन र कोरोना ओसारपसार नगर्न सरकारले आग्रह गरेको छ । सरकारको यो आग्रहलाई मान्ने कि नमान्ने दुईथरी मत छ । यद्यपी कोरोना मानिसहरुबाट मानिसहरुलाई नै सर्ने संक्रामक महामारी भएकाले भौतिक दूरी कायम नगरेको अवस्थामा जो कोही यसको शिकार हुनेकुरामा कसैको विमति देखिन्न ।
बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनीमा बसोबास गर्ने पंकज दाहाल दशैं तिहार मनाउनै पर्छ भन्ने जिकिर गर्छन् । टाढाबाट आउनुपर्ने उनका छोराछोरीहरु आइसकेका र अहिलेसम्म आफ्नो परिवारमा कोही पनि कोरोना पोजेटिभ नभएका कारण उनी दशैं मनाउने पक्षमा छन् । भन्छन् ‘टाढा–टाढाबाट छोराछोरी बुहारी नाति नातिना आएका छन्, दशैंजस्तो पर्व मनाउनु पर्छ । तर सचेत भएर परिवारमा रमाइलो गर्ने तयारी गरेका छौं ।’ उनी भन्छन् टाढा रहेका आफन्तजनकोमा चाहिँ यो वर्ष आफ्नो परिवारको कोही सदस्यले नजाने निर्णय भएको छ ।
यता, अर्जुनधारा नगरपालिका २ का निर्मला कार्की भने दशैँ मनाउने सोचमा छैनन् । ‘भेटघाट गरेर रमाइलो गरौँ जस्तो पनि लागेको छैन’ कार्कीले यसको अन्तर्य खुलाउँदै भनिन्, ‘वैदेशिक रोजगारीको शिलशिलामा विगत तीन वर्षदेखि श्रीमान कतारमा हुनुहुन्छ । उहाँलाई कोरोना संक्रमण भएर एक महिना थलिए पछि भर्खरै काममा जान थाल्नुभएको छ । धन्न उहाँले कोरोना भाइरसलाई जित्नु भयो र बेचैनी हटेको छ । मनमा खुसी भए पो चाडपर्व मनाउँदा रमाइलो हुन्छ । मनै दुखी भएर के मनाउनु पर्व ?’ आफ्नो माइती पनि धुलिखेल भएकाले दशैँ मनाउन, टिका थाप्न भन्दै यहाँदेखि यस्तो माहामारीमा जाने पनि कुरै भएन, उनले सुनाइन् ।
त्यस्तै कनकाई नगरपालिका १ मा बसोबास गर्ने निलम पौडेल चाहिँ आफ्नै छरछिमेकमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेकाले चाडपर्वलाई मनोरञ्जनात्मक नबनाउने सोचमा छन् । भन्छन्, ‘देशको यस्तो अवस्था छ । हाम्रै ठाउँमा पनि मुत्यु हुनेको संख्या बढिरहेको छ । यस्तो माहोलमा कसरी पर्व मनाउनु र ? आज कोरोना छैन भनेर ढुक्क भएर बस्न पनि सकिएन, कसैलाई त लक्षण नै नहुने रहेछ । कोरोना छैन भनेर भेटघाट जमघट गरिएला भित्र भित्रै संक्रमण फैलेला ।’ चाडपर्वका कारण कोरोना संक्रमण नसरोस् भन्नका लागि दशैंभर सरकारले लकडाउन गरिदिए हुन्थ्योभन्ने पौडेलले पुकारा पनि गरेका छन् । ‘टाढा रहेका आफन्त त आउँदैनन् ।
दशैँजस्तो पर्वमा नजिककालाई नआउ कसरी भन्नु ? मन त आफूलाई पनि छ दशैँमा रमझम गर्ने तर अवस्था नै यस्तै बन्यो । बरु सरकारले लकडाउन गरे हुन्थ्यो, लकडाउन नै भएको अवस्थामा त टिका लगाउन आउन जानु पनि नपर्ने र आफन्त आउने पनि थिएनन् । स्वास्थ्य अवस्था राम्रै भएछ र बाँचे त अर्को सालमा दशैँ उत्साहका साथ मनाउन पाइन्छ नि !’
दशैँमा अग्रजहरुको आशीर्वाद थाप्न आफ्नो मूलघर, मावल, ससुराली नजानुस् भन्न कसैलाई हुँदैन । किनकि यो सांस्कृतिक पर्व नमान भनेर एकले अर्कोलाई राक्न मिल्दैन । नागरिकको मौलिक हनन गर्न कसैले हुँदैन ।
तर कोरोना ? उ त संक्रमित जहाँ जान्छ, पछ्याउँदै जान्छ । र, ज्येष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी भएको ठाउँमा पुगियो र भौतिक दूरी लगायतका स्वास्थ्य सावधानी अपनाइएन भने अनि फसाद पर्नेछ । यसैले पहिलो शर्त स्वास्थ्य सावधानी र सामाजिक दूरीलाई व्यवस्थापन गरेर चाडपर्व मनाउनु नै यो वर्षको दशैंको उदाहरणीय पक्ष हुनेछ ।
Comments