नेत्रविक्रम चन्द ‘विप्लव’का पाँच कार्यकर्ता पक्राउ
Published: (Updated: )
by .झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
विप्लव समूहका मेची व्युरो सदस्यसहित ५ कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी) का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा गाउँपालिका–४ साब्लाखुका २५ वर्षीय असल पन्धाक लिम्बु, झापा कचनकवल गाउँपालिका, पथरियाका ४३ वर्षीय देवी खड्का र इलामका ४८ वर्षीय प्रेम चापागाई रहेका छन् ।
पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेकाले शान्ति सुरक्षालाई मध्यनजर गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ। प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद र पर्चा, दस्तावेज समेत बरामद गरेको जनाइएको छ।
प्रहरीले दास र लिम्बुलाई दमकबाट, खडकालाई कचनकवल, राई र चापागाईलाई बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ। यता, बन्दले झापामा आंशिक प्रभाव परेको छ। लामो दूरीका सवारीसाधन नचले पनि छोटो दुरीको सवारी साधान आंशिक रुपमा चलेको प्रहरीले जनाएको छ।
Comments