Sajhamanch Archive

निर्माणको प्रगति बढाउनू, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्‍नू : मन्त्री नेम्वाङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिएका छन्।

कोभिड-१९ सङ्क्रमित मन्त्री नेम्वाङ ‘होम आइसोलेशन’ बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी भए। उनले ती ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्नुपर्ने बताए।

मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका काम भइरहेका स्थानमा अनुगमन बढाउनुपर्ने उनको जोड छ। नेम्वाङले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्ने जनाए। ‘८०/९० प्रतिशत प्रगति भएकालाई काममा लगाउन सकिएला’, उनले भने, ‘तर प्रगति नभएका र सम्पर्कमा नआएकालाई कालोसूचीमा राखेर कारवाही अघि बढाउनुपर्छ।’

मन्त्री नेम्वाङले गत वर्षभन्दा चालु आवको अन्त्यसम्ममा भौतिक र वित्तीय गरी दुवै प्रगति बढाउनुपर्नेमा जोड दिए। पहिलो चौमासिकमा वर्षा, चाडपर्व र कोभिडका कारण काममा बाधा पुगेको उनले बताए।

कुनै पनि आयोजनामा रहेका नीतिगत समस्या हल गर्न आफू तयार रहेको उनले उल्लेख गरेका छन्। नेम्वाङले सबैजनाले आफ्नो ठाउँबाट जिम्मेवारपूर्ण काम गरे‍मा मात्रै प्रगति हासिल हुने बताए। ‘हामीले लक्ष्यअनुसार प्रगति हासिल गर्दा हामी सबैको शीर ठाडो हुनेछ’, उनले निर्देशन दिँदै भने।

                                                                                                              थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *