Sajhamanch Archive

आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली फाइनलमा

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा दिल्लीले दोस्रो क्वालिफायरमा हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १९० रनको बलियो लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १७२ रन बनाउन सक्यो ।

हैदरावादका लागि केन विलियनसनले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ६७ रन बनाए । हैदरावादका लागि अब्दुल सामदले ३३ रन बनाउँदा मनिस पाण्डेले २१ रनको योगदान गरे ।

दिल्लीका लागि कगिसो रवाडाले सार्वधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन दिँदै चार विकेट लिन सफल भएका हुन् । त्यस्तै मार्कुस स्टोइनिसले तीन विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धावनले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७८ रनको योगदान गरे । त्यस्तै सिमरन हेटमायरले ४२ रन बनाउँदा मार्कुस स्टोइनिसले ३८ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान एक–एक विकेट लिए ।

आइतबारको खेलमा दिल्लीले जित निकाल्दै आईपीएल इतिहासमा पहिलोपटक फाइनलमा स्थान बनाएको छ । दिल्लीले अब उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *