Sajhamanch Archive

अनुमतिविना कोभिड अस्पताल सञ्चालन, चार जनाको मृत्युपछि बन्द गर्ने निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । विराटनगरको एक अस्पतालमा चारजना कोरोना संक्रमितको मृत्यु भएपछि मात्र अनुमति नलिई सञ्चालन भएको खुलेको छ ।

सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु सेवा बन्द गरी कोरोना संक्रमितको उपचार सुरु गरेको थियो ।

अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको छ । जसमा चारजनाको मृत्यु भइसकेको, ११ जना उपचाररत रहेको र बाँकी डिस्चार्ज भइसकेको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले बताए ।

चर्को शुल्क

यो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजारदेखि ३० हजार रुपैयाँसम्म तोकेको छ । भेन्टिलेटर आवश्यक पर्ने बिरामीले दैनिक ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रशासन प्रमुख मेहताले जानकारी दिए ।

मेहताले कोरोना संक्रमितको उपचारका लागि कुनै निकायबाट स्वीकृति नलिएको स्वीकार गर्दै अहिले अनुमति लिने प्रक्रिया सुरु गरिरहेको बताए । ‘दसैँअघि अस्पताल सुरु गरेका हौं, सामाजिक विकास मन्त्रालयका अनुमति मागेका छौं,’ उनले भने, ‘अस्पताल सुरु गरे पनि अनुमति भने आइसकेको छैन ।’

स्थानीय सरकारले भने अस्पताल सञ्चालन गर्न मौखिक सहमति दिएको उनको दाबी छ । जिल्ला प्रशासन कार्यालयको पत्रपछि भने अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको छ ।

चारजनाको मृत्यु भइसकेपछि बन्द गर्न निर्देशन

अनुमतिविनै सञ्चालन भएको अस्पतालले चर्को शुल्क लिएर बिरामीको उपचार गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छापा हानी शुक्रबार अस्पताल बन्द गर्न निर्देशन दिएको छ ।

अस्पताल प्रशासनसँग स्पष्टीकरण सोधेर प्रशासन कार्यालयले कोरोना संक्रमितको उपचार बन्द गरी हाल उपचाररत बिरामीलाई अन्यत्र रेफर गर्न भनेको छ ।

आफू खुसी सञ्चालन गरेर बिरामीसँग चर्को शुल्क असुल गरेको पाइएपछि बन्द गरी लिखित स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

अनुमतिविना सञ्चालनमा रहेको अस्पतालले न्यूनतम मापदण्ड पनि पूरा नगरेको प्रजिअ निरौलाको भनाइ छ । ‘अस्पताल सञ्चालनका लागि कतैबाट अनुमति लिएको छैन, न्यूनतम मापदण्ड पनि पालन भएको छैन्,’ उनले भने, ‘उपचारका लागि आउने संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो आएको छ ।’

प्रशासनले संक्रामक रोग निवारण ऐन २०२० अनुसार अस्पतालविरुद्ध कारबाही अघि बढाएको जनाएको छ ।

                                                                                                        अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *