Sajhamanch Archive

अक्सफोर्डको चार करोड कोरोना खोप उत्पादन गर्दै भारतीय कम्पनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको चार करोड डोज भारतीय कम्पनी सेरुम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने बताएको छ ।

बिहीबार कम्पनले अब छिटै नै खोप निर्माणको काम सुरु गर्ने बताएको छ । यद्यपि त्यसका लागि कम्पनीले नियामकको अनुमति पाउन बाँकी छ ।

सेरुमका अनुसार भारतमा कम्पनीले एक्स्ट्राजेनेकाको खोपको अन्तिम चरणको परीक्षणका लागि एक हजार ६ सय सहभागी दर्ता गरिसकेको छ । त्यसका साथै यो कम्पनीले अहिले बनाउँदै गरेको नोभाभ्याक्स खोपको लागि पनि अन्तिम चरणको परीक्षणको अनुमति लिने प्रयास गरिने बताएको छ ।

सेरुमका अनुसार अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा निर्माण भइरहेको एक्स्ट्राजेनेकाको कोरोना खोप भारतमा मानव परीक्षणमा सबैभन्दा अगाडि देखिएको खोप हो । कम्पनी र भारतीय मेडिकल रिसर्च परिषद् (आईसीएमआर)ले सकेसम्म छिटै यो खोप भारतमा उपलब्ध गराउने बताएका छन् ।

यद्यपि भारतीय कम्पनीले निर्माण गर्ने चार करोड खोपको प्रयोग भारतका लागि मात्र गरिने वा अन्य मुलुकमा पनि पठाइने हो भन्ने विषयमा भने सेरुम र आईसीएमआरका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

                                                                                                                         स्रोत : रोयटर्स

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *