Sajhamanch Archive

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’द्वारा महासचिव पौडेल र नेता नेम्वाङसँग भेटवार्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।

यसअघि प्रचण्डनिवास खुमलटारमा भेटवार्ता हुने गरे पनि यसपटक पार्टी कार्यालयमै उहाँहरूसँग करिब आधा–आधा घण्टा छलफल भएको सापकोटाले बताए।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने पौडेल र नेम्वाङ र प्रचण्डबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ। तर, उनीहरूबीच के कुराकानी भयो भन्ने सार्वजनिक भइसकेको छैन।

गत बुधबार बसेको नेकपाको सचिवालय बैठकमा ओलीले यसअघि प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै काउण्टर प्रस्ताव ल्याउने भनेपछि पार्टी गम्भीर मोडमा पुगेको विश्लेषण भइरहेको छ। प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै गम्भीर समयको स्वाभाविक भेटघाट भनेका छन्।

                                                                                                                 थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *