Sajhamanch Archive

अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइयाे

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्छ । यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छे भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् ।

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्‍नान गरी चोखो गरेर बसेका वर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ ।

छठ पर्व मनाए मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्‍वास छ । छठ पर्वको पहिलो दिन स्‍नान गरी एक छाक खाएर बस्‍ने गरिन्छ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *