Sajhamanch Archive

चन्द्रगढीको सडक किन साँघुरो ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी चौक पूर्व जिल्ला समन्वय समितिको मातहतमा रहेका सटरसम्मको (तीन सय मिटर) ट्रेड युनियन चौक भित्रको सडकको चौडा कम निर्माण भएको स्थानीयले आरोप लगाएका छन् ।

निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक साँघुरो बनेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

सडक निर्माण ठेक्का लाग्ने बित्तिकै चन्द्रगढी चौक आसपासका घर टहरा हटाउन सडक विभागले ३५ दिने सूचना जारी गरेपछि केही कार्यालय तथा व्यक्तिहरूले सडक क्षेत्रसम्म ओगटिएका संरचना हटाएका भए पनि जिल्ला समन्वय समितिका सटर रहेका टहरा हटाइएको छैन भने नगर प्रमुखको घर आसपासका मिचिएका संरचना समेत हटाइएको अवस्था छैन ।

स्थानीय युवा सन्तोष आचार्यले फेसबुक स्टाटस लेख्दै भनेका छन् – निजी घर भत्किन्छ कि भनेर आफ्नो मेन बजारको चौक मै रहेको घर क्षेत्रको ३०० मिटर बाटो कम चौडाइ बनाएर बाँकी क्षेत्रमा फराकिलो सडक बनाउन खोज्ने प्रगतिशील मेयर सापलाई सलाम भन्दै व्यंग्य गरेका छन् ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल विर्तामोड रोड समेत रहेको सो सडक खण्डलाई दुई लेण्डमा सिमति पारिनु नहुने बताउँछन् । अध्यक्ष पोखरेल भनछन् – चन्द्रगढीको व्यस्त सडकका रूपमा रहने सो क्षेत्रमा ४ लेण्डको सडक निर्माण हुनु पर्ने भन्दै सरकारी पक्षबाट गुणस्तरीयताको निगरानी समेत नभएको बताउँछन् ।

स्थानीय बासिन्दा समेत रहेका अधिवक्ता लक्ष्मीप्रसाद अधिकारी सडक निर्माण कार्य बारे प्रतिकृया दिँदै विकासका रूपमा काम नभएर विनासको स्वरूपमा निर्माणको नाटक भएको बताउँछन् । उनका अनुसार समृद्ध भद्रपुरका लागि निर्माण हुनु पर्ने सडक साँघुरो बनाउने खेल कमिशन बटुल्ने काममा प्रयोग हुँदा विकासले विनासको नेतृत्व गरिरहेको हो ।

यसै बीच सो सडक निर्माणमा भइरहेको नालीको काममा निर्माण ठेकेदारले गुणस्तरहिन इटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकाम्स निर्माण स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको हो । सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत नियामकको भूमिकामा रहने सरकारी निकाय मौन देखिएका छन् । जसको बल निर्माण व्यवसायीमाथि थपिदा सडक निर्माणको गुणस्तरमा मनोमानी चलिरहेको छ । त्यस्तै भइरहेको कालोपत्रेको काम पनि सम्झौता अनुसारको नहुँदा भत्कने, चर्कने समस्या आइ सकेको छ । निर्माणकै चरणमा भत्केको सडकपछि मर्मत गरेर निर्माण ठेकेदारले सरकारलाई बुझाउने परिपाटीको कारण काम गुणस्तरहिन भएको स्थानीयहरू बताउने गर्छन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार निर्माण स्थलमा सरकारी प्राविधिक देखिने गरेका छैनन् । निर्माण ठेकेदारले पनि पेटी ठेकेदारको जिम्माका छोडेको सडक निर्माणको काम मजदुरको तजविजमा चल्ने गरेको छ ।

तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१÷७२ बाट सुरू भएको यस आयोजनाका लागि तीन पटक म्याद थप गराएर समेत निर्माण पक्षले नाली बनाउने, कल्वट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहेका छन् । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाने गरेको कार्यरत मजदुर समेत बताउने गर्छन् ।

सरकारी प्राविधिक पक्षबाट गुणस्तरमाथि नियमित निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्र्भटका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको काम समेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकिरहेको स्थानीयको आरोप छ ।

हुलाकी सडक परियोजना अन्र्तगत पूर्व—पश्चिम खण्डको भद्रपुरको झापाचौक—राजगढ क्षेत्रमा निर्माण गरिएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम सुरू भएपछि घरगाउँमा कालोपत्रे सडक आएकोमा खुसी हुने स्थानीय दुखित बन्न थालेका छन् । सवल सडक निर्माण नभएपछि वर्षादमा पर्ने खाल्डाखुल्डीमा परिने त्रास स्थानीयमा बढेको छ । विगतमा धुले र हिले सडकको पीडा सहेका स्थानीय नयाँ सडक पनि गुणस्तरीय निर्माण नभएपछि बिगतको पीडा अन्त्य नहुने चिन्तामा परेका हुन् । गएका दुई आर्थिक वर्ष गरिएको सो क्षेत्रको कालोपत्रे गुणस्तरहिन भएकै कारण भत्कन थाले पनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल नगरेकोमा स्थानीयको दुखेसो गुनासोमा परिणत हुन थालेको छ । राज्य पक्षको नियामक उदासिन हुँदा सडक निर्माणमा ठेकेदारको मनोमानी भइरहेको जलथलका रविन्द्र बोहोराको भनाइ छ । उनका अनुसार मिक्स गिटीले पुर्नु पर्ने सडकको सव—वेश ग्राभेलको काम ठेकेदारले माटोले पुरेपछि जग नै कमजोर बन्दा वेश ग्राभेल तथा पिच कमजोर बनिएकोले भत्कन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *