Sajhamanch Archive

बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर तीनजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर तीनजना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ । दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको स्थानीयले बताएका छन् । घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्को एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना  परिचालन गरिएको छ ।

बर्दिबास नगरपालिका वडा नं.१४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका वडा नं.५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।

                                                                                                            अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *