Sajhamanch Archive

विदेशमा काम गर्ने कामदारको पनि सञ्चय कोष

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  ।   अब विदेशमा काम गर्ने कामदारको लागि पनि सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको सञ्चय कोषको व्यवस्था गर्ने गरी काम अघि बढाएको छ ।

सञ्चय कोषको व्यवस्था गर्न मंगलबार अध्ययन कार्यदल समेत गठन भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।

मन्त्रालयले कर्मचारी सञ्चय कोष, राष्ट्र बैंक र मन्त्रालयका अधिकारीसहितको कार्यदल बनाएको हो । विदेशमा काम गर्न जाने कामदारका लागि कोषको स्थापना गर्न कानूनी तथा प्राविधिक समस्या रहेकोले अध्ययनपछि आउने सुझावको आधारमा काम अघि बढाउने प्रवक्ता दाहालले बताउनुभयो ।

‘विदेश रहेका रोजगारदातासँग समन्वय गर्नुपर्ने हुन सक्छ, कानुनी आधारबाट पैसा पठाउन लगाएर त्यसमार्फत कोषमा जम्मा गर्न लगाउन पनि सकिन्छ,’ प्रवक्ता दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘गाह्रो छ, तर अध्ययन प्रतिवेदन आएपछि त्यही अनुसार कार्यक्रमलाई अघि बढाउने छौं ।’

कोषबाट आउने ब्याजबाट कामदारका नेपालमा रहेका परिवारलाई सामाजिक सुरक्षा दिन सकिनेछ । नेपालमा रहेका सबै श्रमिकको सञ्चय कोषको व्यवस्था गर्न अहिलेकै सामाजिक सुरक्षा कोषलाई सक्रिय बनाउने मन्त्रालयको तयारी छ ।

उमेर छउन्जेल सबैले काम गर्छन्, तर काम गर्न नसक्ने भएपछि वा अशक्त भएमा अप्ठ्यारो पर्ने भएकाले त्यस्तो परिस्थितिमा सहज होस् भन्ने उदेश्यले सञ्चय कोषको व्यवस्था गर्न लागिएको प्रवक्ता दाहालले बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याउँदै 

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष पनि ल्याउने भएको छ । यसबारेको नियमावली बनेको र केही समय भित्रै नियमावली मन्त्रीपरिषदमा पेश गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

‘नियमावली अहिले कानुन मन्त्रालयमा रायका लागि पठाइएको छ, कानुन मन्त्रालयको रायपछि त्यसलाई मन्त्रीपरिषदमा पेश गरिने छ,’ उहाँले भन्नुभयो, ‘अबको डेढदेखि दुई महिना भित्रमा सामाजिक सुरक्षा कोष ल्याउने तयारी छ ।’

यो कोषमा सबै श्रमिक र स्वरोजगार व्यक्ति सहभागी हुन सक्ने उहाँले जानकारी दिनुभयो । श्रमिकको हकमा भने रोजगारदाता र श्रमिक दुवैले कोषमा निश्चित रकम राख्नुपर्नेछ ।

कोषमा योगदान गरेको आधारमा श्रमिकले सेवा पाउने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी, दुर्घटना लगायत थुप्रै अवस्थामा कोषबाट सेवा पाइन्छ, तर कति र कसरी पाइने भन्नेबारे अहिले भन्न सकिंदैन, त्यसमा लागि दुई महिना पर्खनु पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *