Sajhamanch Archive

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणबारे बोर्डको यस्तो निर्देशन

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । कोभिड–१९ कारण स्थगित कक्षा–१२ को परीक्षा गत मंगलबारबाट सुरु भएको छ।

परीक्षा यही मंसिर १६ गते सकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सम्बन्धमा बोर्डको सबै प्रदेश परीक्षा कार्यालय र शाखा कार्यालयलाई केही निर्देशन दिएको छ।

‘उत्तरपुस्तिका परीक्षणका लागि कम्तीमा ३ वर्षअघि सम्बन्धित विषयमा स्नातकोत्तर गरी (प्राविधिक विषयबाहेक) कम्तीमा २ वर्षदेदेखि सम्बन्धित विषय अध्ययनरत विषय शिक्षकहरुको नामावली समावेश गरी शिक्षक रोस्टर तयार गर्ने,’ निर्देशन पत्रमा भनिएको छ,‘विषयगत विद्यार्थी संख्याका आधारमा कम्तीमा २ जनादेखि आवश्यकताअनुसार बढीमा १० जनासम्मका शिक्षकहरु सम्परीक्षकमा रहने व्यवस्था मिलाउनुपर्ने छ।’

कार्यालयमा समेत योग्यता पुगेका शिक्षक नभई परीक्षणबिना नै प्राप्त भएका उत्तरपुस्तिकाहरु त्यहाँ नै योग्यता पुगेका एवं रोष्टरमा रहेका शिक्षकबाट परीक्षण गराउनुपर्ने निर्देशनमा उल्लेख छ।

त्यस्तै, उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण निर्देशनमा फरक जिल्लाका विद्यालयबाट सहभागी परीक्षार्थीको उत्तरपुस्तिका विद्यालयगत रुपमा परीक्षणबिनै तत्कालै छिटो साधनद्वारा परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने उल्लेख छ।

परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशित गर्ने तयारी पनि बोर्डले थालेको छ। बोर्डका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिइरहेका छन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *