Sajhamanch Archive

संसारकाे कुनै पनि आकाशमा नेपाललाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य छैन : मन्त्री भट्टराई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दाबी गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए । तर पनि युरोपेली आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानुनी पुनर्संरचना गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा सङ्गठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए ।

त्यो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भइ अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको बताए । अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र सङ्गठनात्मक पुनर्संरचनाको कानुनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनै पनि प्रतिबन्धहरू फुकुवा हुने ठाउँमा पुग्ने बताए ।

कोभिडको व्यापक सङ्क्रमण भएको अवस्थामा पनि नेपालको एअरपोर्ट एक दिन पनि बन्द नभएको दाबीसमेत मन्त्री भट्टराईले गरे । नियमित उडान बन्द गरिए पनि एअरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाइ छ ।

अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्यबाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुला गरिएको भट्टराईले बताए । नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको पनि उनले दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *