Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।

मतदान बिहान आठ बजेदेखि सुरु गर्ने तयारी छ । महासंघको मतदानका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघको सचिवालयले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *