शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धिसँगै १५ शैयाको अस्पताल बनाउने
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती हुने भएको छ । नगरको वडा नंं ६ मा रहेको स्वास्थ्य कन्द्रको स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउने भएको हो ।
विहीबार अस्पताल परिसरमा १५ शैयाको अस्पतालका लागि भवनको भवनको शिल्यान्यास गरिएको छ । नगरप्रमुख चन्द्रकुमार सेर्माले उक्त भवनको शिल्यान्यास गरेका हुन् ।
भवन शिल्यान्यासका क्रममा बोल्दै नगरप्रमुख चन्द्रकुमार सेर्माले अस्पतालसँगै दक्ष जनशक्तिको पनि व्यवस्था गरिने बताए । उनले भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अन्य अस्पतालहरुबाट दिइने सेवा आफ्नै नगरको अस्पतालबाट दिइने जानकारी दिए । नगरप्रमुख सेर्माका अनुसार शिवगञ्ज आधारभुत अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जनाको दरबन्दी हुने छ ।
अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विघाह जग्गा शिवगञ्ज आधारभुत अस्पतालाई प्रदान गरेपछि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पताल भित्रिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयास पछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गराउन सफल भएको बताए ।
अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोज भएको छ । विनियोजित मध्ये ३ करोड २३ लाख रुपैयाँ चालु वर्षमा खर्चहुने गरी निकासा भएको वडा अध्यक्ष खुलालले बताए । उनका अनुसार २ वर्ष भित्रमा अस्पतालको भवन निर्माण हुने छ ।
शिवगञ्जमा आधारभुत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडासहित झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकाको केही वडाका स्थानीय लाभान्वित हुने भएका छन ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट शिवगञ्ज आधारभुत अस्पतालमा स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सजस्ता रोगको शल्यक्रिया सेवा दिन सकिने शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, नेकपाका झापा सचिवालय सदस्य राधाकृष्ण खनाल, नेकपाका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुँगाना लगायतले कोरोना भाइरसको कारण अप्ठ्यारो परिस्थितीमा पनि सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धी गरी शिवगञ्ज आधारभुत अस्पताल निर्माण गर्ने कार्यको प्रसंसा गरेका थिए ।
सामाजिक विकास समितिका संयोजक छबिलाल पाठकले स्वागत गरेको कार्यक्रम नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संचालन गरेकी थिइन् ।
Comments