Sajhamanch Archive

पठन संस्कृति : के सफलताका लागि पढ्न जरुरी छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’– जोसफ एडिसन (१६७२–१७१९) ! एक प्रख्यात अंग्रेजी साहित्यकार एवं सम्पादकले आजभन्दा करिब तीन सय वर्षअघि यो कुरा भनेका थिए । अर्थात् पढाइ दिमागका लागि त्यति नै जरुरी छ, जति शारीरिक स्वास्थ्यका लागि व्यायाम । उनको यो कुरालाई केही वैज्ञानिकले आफ्ना शोधमार्फत पुष्टि पनि गरे ।

व्यायामले जसरी हाम्रो शरीरलाई स्वास्थ्य र सुडौल बनाउँछ, ठीक यसैगरी पुस्तक पढेर हाम्रो मन मस्तिष्क स्वस्थ र आनन्दमय बन्न सक्छ । किताब मान्छेको महानतम् सम्पदा हो । यसलाई पार्थिव अन्य कुनै पनि वस्तुको तुलना गर्न सकिँदैन । चाहे कुनै प्रतिकुल स्थितिमा होस् वा अनुकुल, जस्तोसुकै अवस्थामा पनि किताब तपाईंका लागि एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत बन्छ ।

हामीले आफ्नो सन्ततिलाई पारिवारिक संस्कार अनुरूप डोहोर्‍याउँछौं । उनीहरूलाई पारिवारिक आचरण र व्यवहार अनुशरण गर्न प्रेरित गर्छौं । यसले उनीहरूलाई पथभ्रष्ट हुन दिँदैन । ठीक यसैगरी हामीले आफ्नो पुस्तालाई पठन संस्कृतिमा पनि अभ्यस्त गर्न सक्छौं । यसले उनीहरूको ज्ञानको दायरा बढाइदिन्छ । सोच्ने र बुझ्ने शैली फराकिलो बनाइदिन्छ । एक समृद्ध जीवन बाँच्नका लागि आधारहरु तयार गरिदिन्छ ।

सम्भ्रान्त परिवारको घरमा मदिरालय हुन्छ । उनीहरुले अनेक कुराहरु संग्रह पनि गर्छन् । तर, पुस्तकालय नहुन सक्छ । यदि हामीले आफ्नो घरमा एउटा पुस्तकालयको व्यवस्था गर्ने र उत्कृष्ट पुस्तकहरु संकलन गर्ने अभ्यास गरिएमा त्यसले हाम्रो घरको शोभा मात्र बढाउँदैन, पठन संस्कृतिको विकास पनि गर्छ । इन्टरनेट, मोबाइल, ल्यापटपमा लिप्त हुँदै गएको अहिलेका पुस्तालाई त पठन संस्कृतिको अरु जरुरत छ । पुस्तक पढ्ने, चिन्तन मनन गर्ने परिपाटीको खाँचो छ । यसले उनीहरुलाई डिजिटल प्रविधिको लतबाट मुक्त मात्र गराउँदैन, मस्तिष्क विकासमा मात्र सहयोग पुर्‍याउँछ ।

यदि हामीले आफ्नो घरमा पुस्तकालय राख्ने र राम्रा पुस्तकहरु संग्रह गर्ने हो भने यसले परिवारमा पठन संस्कृतिको जग बसाउँछ । घरमै पुस्तकालय भएको अवस्थामा हामी राम्रा राम्रा पुस्तक पढ्न थाल्छौं । पुस्तकबारे बहस गर्न थाल्छौं । चिन्तन मनन गर्न थाल्छौं । यसले पारिवारिक माहोल पनि फरक बनाउँछ । साना बालबच्चाका लागि घरको वातावरण अनुकरणीय बन्छ ।

चाहे राजनीतिज्ञ होस् वा वैज्ञानिक, समाज सुधारक होस् वा अरु कोही, उनीहरु अध्ययनशील हुन्छन् । उनीहरुले आफ्नो व्यस्त दिनचर्यामा पनि पढाइलाई छाडेका हुँदैनन् । यस्ता व्यक्तिहरुका लागि पढाइ मौलिक आवश्यकता बन्ने गर्छ । त्यसो त पुस्तक पढ्नुको अनेक लाभ छन् । कतिपय शोधबाट के पुष्टि भएका छन् भने पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । दिमागी तनाव कम गर्नका लागि पुस्तक पढ्नु निकै उपयोगी हुन्छ । सन् २००९ मा यू।के।के सेसेक्स युनिभर्सिटीका वैज्ञानिकले हार्ट रेट र मसल टेन्सन मनिटरिङको माध्यमले जाँच गर्दा के पाए भने पठन पाठनले तनावको स्तर घट्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *