Sajhamanch Archive

त्रिविका आंशिक प्राध्यापकले कक्षा र परीक्षा बहिस्कार गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर्ने घोषणा गरेका छन् ।

समान कामको समान ज्याला हुनुपर्नेलगायतका माग राखेर आन्दोलनरत आंशिक प्राध्यापकले त्रिविले विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेको कक्षा बहिस्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् ।

त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले मंगलबार पत्रकार सम्मेलन गरी पुस २ गतेदेखि उपकुलपति कार्यालय केन्द्रित आन्दोलन गर्ने बताएको छ । पत्रकार सम्मेलनमा कमिटिका सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने बताए ।

त्रिविका आंशिक प्राध्यापकले समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापकसरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।

आंशिक प्राध्यापकले त्रिविले गत भदौमा जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्न पनि माग गरेका छन् । उक्त निर्देशिकाले समान कामको समान ज्यालालाई नसमेटेको, आंशिक प्राध्यापकको पेशागत स्थायीत्व प्रदान गर्न नसकेको, आंशिक प्राध्यापकलाई अपमान हुने शब्द र वाक्य प्रयोग गरिएकाले स्वीकार गर्न नसकिने सहअध्यक्ष ढुंगानाले बताए ।

                                                                                                             अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *