Sajhamanch Archive

भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् ।

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उनले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताए । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताए ।

उनले भनेका छन् – ‘कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’ नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिएका छन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डाक्टर गणेशराज जोशी र आयुक्त डाक्टर सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *