Sajhamanch Archive

सनी देओल र अरमानले अस्विकार गरेको फिल्ममा अभिनय गरेर स्टार भएका शाहरुख खान

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

यस्ता थुप्रै कहानी छन् जसमा कुनै कलाकारले फिल्म छोदिदिए र त्यसमा अर्का कलाकारले अभिनय गरे । यस्ता घटना पनि भएका छन् जसमा फिल्म छोड्नेहरु पछि परेको र अभिनय गर्नेले छलाङ मारेको ।

यस्तै एक किस्सा फिल्म ‘दिवाना’ सँग जोडिएको छ । यो फिल्म सन् १९९२ मा रिलिज भएको थियो । निर्देशक थिए राजकंवर । गुड्डु धनोआ र ललित कपुरले यो फिल्म निर्माण गरेका थिए । फिल्ममा ऋषि कपुर, दिव्या भारती र शाहरुख खानले मुख्य भूमिका निभाए ।

यो फिल्म यसकारण पनि याद गरिन्छ, किनभने यो शाहरुख खानको रिलिज भएको पहिलो फिल्म थियो । हुन त शाहरुख खानले हेमा मालिनीको फिल्म ‘दिल आशना है’ सबैभन्दा पहिले साइन गरेका थिए तर दिवाना भने छिट्टै रिलिज भयो ।

दिवाना सबैभन्दा पहिला माधुरी दिक्षितलाई अफर गरिएको थियो, त्यतिबेला उनी निकै चर्चामा थिइन् । माधुरीले आफू असाध्यै व्यस्त भएकोले फिल्म गर्न अस्विकार गरिन् । उनले अस्विकार गरिन् तर यसले दिव्या भारतीलाई निकै फाइदा पुर्यायो । दिव्या त्यतिबेला इन्डष्ट्रिमा नयाँ थिइन् ।

ऋषि कपुर यसमा छानिइसकेका थिए र एक युवा हिरोको खोजी जारी थियो । फिल्म निर्माता राजकुमार कोहलीका छोरा अरमान कोहलीलाई साइन गरियो ।

फिल्मको सुटिङको पहिलो सुटिङ शेड्युल सुरु भयो । अरमान कोहली कलाकार त नयाँ थिए तर उनको व्यवहार सुपरस्टारको जस्तो थियो । सृजनामा भिन्नता भएको भन्दै उनले उक्त फिल्म छोडिदिए ।

हिरोले फिल्म छोडेपछि सबैजना चिन्तामा परे । हतारमा सनी देओलसँग कुरा गरियो किनभने फिल्मका निर्माता गुड्डु धनोआको सनीसँग निकै राम्रो सम्बन्ध थियो र उनले सनीलाई लिएर थुप्रै फिल्म पनि बनाइसकेका थिए ।

फिल्म सुरु भइसकेको थियो र सनी देओल त्यतिबेला असाध्यै व्यस्त कलाकार थिए । सनीले अन्य निर्मातालाई बचन दिइसकेकोले उनले फिल्म अस्विकार गरे । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार गुड्डुको समस्या देखेर धर्मेन्द्रले शाहरुखको नाम सुझाए जसलाई त्यतिबेला भविष्यका स्टार मानिन्थ्यो । हतारमा शाहरुखलाई साइन गराएर दिवानाको सुटिङ अघि बढ्यो ।

२६ जून १९९२ मा फिल्म रिलिज भयो र बक्स अफिसमा यसले धमाका मच्चायो । सन् १९९२ मा सबैभन्दा धेरै व्यापार फिल्म ‘बेटा’ ले गरेको थियो भने दोस्रो स्थानमा दिवानाको नाम थियो ।

फिल्मका गीतहरु पनि निकै हिट भए । फिल्मका लगभग ८० लाख क्यासेट बिके जुन त्यो वर्षको सबै फिल्मभन्दा बढी थियो । दिवानाले सबैभन्दा धेरै फाइदा शाहरुख खानलाई भयो । यो फिल्मको सफलतापछि उनले कहिले पनि पछाडि फर्केर हेर्नुपरेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *