Sajhamanch Archive

‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्दा प्रक्रियागत त्रुटि भएकाे हाे’

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । विना स्वीकृति नेपाल सरकारको निसाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले त्यस क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।

यही मङ्सिर १९ गते त्यस आयोगका तत्कालीन १३ जना सदस्यको अनुमतिमा आफूहरूले प्रतिवेदन प्रकाशन गरेको जनाउँदै एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले आफूहरूसँग सम्बन्ध विच्छेद र सहकार्य नगर्न दातृ निकायलाई आग्रह गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयले मङ्सिर २१ गते विज्ञप्ति जारी गरी त्यस संस्थालाई प्रतिलिपि अधिकार ऐनअन्तर्गत कारबाही गर्न गृह मन्त्रालयमा लेखी पठाउने पनि जनाएको थियो । प्रतिवेदन प्रकाशन सहयोगमा नाम जोडिएको ग्लोबल एक्सन नेपालले प्रकाशनबारे छलफल भए पनि औपचारिक सम्झौता नभएको जनाएको छ ।

एनसीई नेपालले आयोगको प्रतिवेदन सार्वजनिक भइ यसमाथि गहिरो विमर्श होस् र यसका सकारात्मक सिफारिस लागू भइ देशको सार्वजनिक शिक्षा प्रणालीको गुणस्तर सुधारमा थप योगदान पुगोस् भन्नेबाहेक आफूहरूको अन्य कुनै मनसाय नभएको पनि स्पष्ट गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *