Sajhamanch Archive

शिवसताक्षीको आदर्श साकोसले ३० लाख बढी नाफा कमायो

Published: (Updated: ) in समाज, सहकारी by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले १५ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । सोमबार शिवसताक्षी न.पा. ९, दुधे स्थित आफ्नैै कार्यालयमा एक कार्यक्रमका बीच स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार सेर्माले नगरपालिकाले बनाएको सहकारी कार्यविधिलाई अवलम्बन गर्दै संस्थाले अघि बढेकोमा संस्थाका सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । उनले सहकारीले नाफा कमाउने मात्र नभई सदस्यहरुको जिविकोपार्जनका लागि विभिन्न आयमुलक काम गर्न लाग्नु पर्ने बताए । सहकारी मात्र यस्तो एउटा संस्था हो, जसले ग्रामिण क्षेत्रका धेरै युवायुवतीहरुलाई रोजगारी प्रदान छ, नगरप्रमुख सेर्मा भने, अब सहकारी सामाजिक उत्तरदायित्व बहन गर्दै विकास निर्माणका काम पनि हातेमालो गर्दै अघि बढ्न सुझाए ।

संस्थाले आ.व. २०७६÷०७८ मा ७८ करोड ८ लाख १८ हजार कारोबार गरी ३० लाख ९ हजार २४० नाफा कमाएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सदस्यहरुको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरु ल्याउने बताए । संस्थाले कोभिड १९को महामारीमा पनि सदस्य लगाव र उत्साहका कारणबाट आ.व. २०७५÷०७६ भन्दा २०७७÷७८ मा ७ लाख बढी नाफा कमाउन सफल भएको जानकारी दिए ।

यसैगरी संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । पूर्व सञ्चालक नरबहादुर राई र कमला सुब्बालाई सम्मान गरेको छ । साधारण बचत तर्फ गुणराज घिमिरे, लेखनाथ अधिकारी, एकादशी बर्मनलाई पनि सम्मान गरेको थियो । त्यसैगरी बाल बचततर्फ शम्सेर चौधरी, ज्येष्ठ नागरिक चन्द्रकुमार पौडेललाई पनि संस्थाले सम्मान गरेको छ । खुत्रुके बचत तर्फ सीतादेवी वस्ती, प्रकाश कार्की, शुसिला थेवे तामाङ्ग, र असल ऋणतर्फ टीका थापा, जयन्तीदेवी प्रधान, खडाङ्गीदेवी राजवंशी, कमला बाँनियालाई पनि संस्थाले सम्मान गरेको थियो ।

त्यस्तै एकल महिला तथा ज्येष्ठ नागरिकतर्फ धनमाया खरेल, मेनुका घिमिरे, विष्णुमाया विष्ट, भगिमाया बाँस्कोटा, तीर्थराज रिजाल, डम्बरकुमारी पराजुलीलाई पनि संस्थाले सम्मान गरेको छ । संस्थाले कर्मचारी इन्दिरा भट्टराई पनि सम्मान गरेको छ ।उनीहरुलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाको व्यवस्थापक प्रकाश पोख्रेलले बताए । उनले कोरोना भाइरसको जोखिमका कारण  संस्थाले गएको २२ गतेबाट नै आफ्ना सदस्यहरुलाई घर घरमा गई साधारण सभाको प्रतिवेदन पुर्याएको संस्थाका व्यवस्थापक प्रकाश पोख्रले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख सेर्मालाई संस्थाका तर्फबाट कदर पत्र प्रदान गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *