Sajhamanch Archive

२०२१ लाई आन्तरिक भ्रमण वर्ष मनाउन २ दिन बिदाको अवधारणा : पर्यटनमन्त्री भट्टराई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । सोही कारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको उनले उल्लेख गरे ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड-१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले औपचारिक घोषणा नभए पनि सन् २०२१ नेपालका लागि आन्तरिक भ्रमण वर्ष भएको उल्लेख गरे ।

आन्तरिक पर्यटनमा टेवा दिन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याएको उनको भनाइ छ । नेपालको अर्थतन्त्रमा वार्षिक ८० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड-१९ को महामारीको सबैभन्दा ठूलो मार परेको भन्दै उनले तत्काल ठूलो मात्रामा पर्यटक नआउने अवस्थामा आन्तरिक घुमफिरलाई प्रवर्द्धन गर्न खोजिएको बताए ।

‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ, खोप सुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन,’ उनले भने, ‘यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’

दुई दिने बिदाको अवधारणामा विज्ञहरुसँग अझै छलफल र परामर्श जारी रहेको उनले बताए । यो निर्णय भइसकेको विषय नभएको र छलफल जारी रहेको उनको भनाइ छ । सबै पक्षको राय लिएर मात्र सरकारले निर्णय गर्ने उनको भनाइ छ । तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल हुन्छ भन्ने नसोच्न समेत उनले आग्रह गरे । ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ,’ उनले भने ।

महामारीका कारण एक वर्ष सम्म वन्दावन्दीको अवस्थामा रहँदा मानिसमा उकुस-मुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने उनको अपेक्षा छ ।

कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *