Sajhamanch Archive

किन अमेरिका पुगे झरना र सुहाना ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

सरकारले चैतमा लकडाउन घोषणा गरेपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन अनिश्चितकालका लागि रोकियो । ८ महिनासम्म फिल्म छायांकन खुल्ला नभएपछि निर्माण टिमले बाध्य भएर सरकारको निर्णयलाई चुनौती दिँदै यस वर्षको दशैंदेखि फिल्मको छायांकन सुरु गरेको थियो । मंसिर दोस्रो सातासम्म चलेको फिल्मको छायांकन दुई महिनाका लागि स्थगित गरिएको छ ।

कोरोना संक्रमणका कारण भीडभाडका दृश्य खिच्न नमिल्ने भएपछि फिल्मको छायांकन दुई महिना पछाडि सारिएको निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

फिल्मको एक महत्त्वपूर्ण सिनमा अभिनेता अनमोल केसी गम्भीर विरामी भएको देखिनुपर्ने छ । यसका लागि उनले १० केजी तौल घटाउनुपर्ने भएकाले पनि फिल्मको छायांकन तत्काललाई रोकिएको निर्माता थापाले बताए ।

फिल्मको छायांकन २ महिना पोस्टपोन्ड भएपछि निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा अमेरिका पुगेका छन् । सोमवार उनीहरु अमेरिका प्रस्थान गरेका हुन् । सुहानाको अध्ययन र पारिवारिक भेटघाटका लागि उनीहरु अमेरिका गएको बुझिएको छ । बुधवार थापा परिवार अमेरिका ओर्लिसकेको छ । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुनेछ ।

प्राप्त जानकारी अनुसार, अमेरिकामा ‘ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारीमा निर्माण टिम छ । गीत छायांकनको चाँजोपाँचो मिलेपछि नेपालबाट अनमोल अमेरिका प्रस्थान गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *