Sajhamanch Archive

मन्त्रालयले उखु किसानसँग माग्यो २१ दिनको समय

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको भुक्तानीका लागि २१ दिनको समय मागेको छ । मन्त्रालयले चिनी उद्योगीसँग सम्पर्क भइरहेको र किसानले पाउनुपर्ने भुक्तानीको तथ्याङ्क सङ्कलन भइरहेकाले २१ दिनको समय दिएर आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।

तर उखु बेचेको पैसा भुक्तानीको माग गर्दै १२ दिनदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघरमा आएर आन्दोलन गरिरहेका किसानले भने पैसाको ग्यारेण्टी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।

आफूहरुले मन्त्रालयलाई १५ दिनको समय दिन सक्ने र १५ दिनभित्र पनि पैसा नपाएमा १६ औँ दिन मन्त्रालयले नै भुक्तानी दिने ग्यारेण्टी भएमा मात्रै आन्दोलन स्थगित गर्ने उनीहरुको माग छ ।

१५ दिनभित्र उद्योगीले पैसा नदिएमा १६ औँ दिन मन्त्रालयले पैसा दिनेछ भनेर लिखित हस्ताक्षरसहित मन्त्रालयले आफूहरुलाई ग्यारेण्टी दिनुपर्ने उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

आफूहरुले दिएको १५ दिनभित्र मन्त्रालय र उद्योगीले कुन किसानलाई कति पैसा दिन बाँकी छ भनेर प्रमाणसहितको विवरण बुझाउनुपर्ने पनि किसानको माग रहेको छ । यसअघि गत साल पुस १८ गते मन्त्रालयले माघको ७ गतेभित्र उखु किसानले पैसा पाउने गरी उद्योगीसँग सम्झौता गराए पनि किसानले अहिलेसम्म पैसा पाएका छैनन् ।

                                                                                                                                उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *