Sajhamanch Archive

झापाका सहकारीकर्मी चुनावी चटारोमाः अधिकांश पद निर्विरोध, आंशिकमा मतदानको सम्भावना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, सहकारी, by .

झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि सम्पन्न उम्मेदवारी दर्ता चरणमा आंशिक नेतृत्व सर्वसम्मत भएको छ । उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन विवरण अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

आगामी माघ १७ गते सम्पन्न गरिने संघको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरिएको हो । जसअनुसार संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा पुनः गणेश ढकाल र महेन्द्रकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ढकाल पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिनिधित्व गर्छन् भने वरिष्ठ उपाध्यक्ष गिरी सहारा नेपाल साकोसबाट प्रतिनिधित्व गर्छन् ।

एकजना उपाध्यक्ष पदका लागि मेची कृषक बहुमुखीका दुर्गाप्रसाद सापकोटा र नवदुर्गा बहुउद्देश्यीय सहकारी दमकका प्रेमकुमार कोइरालाको मनोनयन दर्ता भएको छ । यसैगरी एकजना महिला उपाध्यक्ष पदका लागि पनि तीन जनाको नाम दर्ता भएको छ । निर्वाचन समितिका सदस्य खोमप्रसाद बगालेका अनुसार संघको महिला उपाध्यक्ष बन्न महालक्ष्मी कृषि सहकारी संस्था मेचीनगरका दुर्गा खतिवडा, उद्यम विकास बचत तथा ऋण सहकारी संस्था दमकका चन्द्रकुमारी खड्का र सृजना महिला बहुउद्देश्यीय सहकारी संस्था कनकाईका चम्पादेवी खनाल सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

संघको सचिवमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका भवानीप्रसाद दंगाल र सहसचिवमा जयनेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका कृष्णप्रसाद मिश्र निर्विरोध भएका छन् । एकजना कोषाध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको छ । आठमौजा बचत तथा ऋण सहकारी संस्था गौरीगञ्जका अर्जुन दंगाल, राष्ट्रसेवक सहकारी संस्था भद्रपुरका खडानन्द गुरागाई र कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका भुपाल बस्नेतले सो पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसरी नै खुल्ला सदस्य चारजना महिलासहित ७ जनाका लागि मनोनयन दर्ता गराउनेहरुमा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका नारायणप्रसाद गौतम, जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका ढुण्डीराज गुरागाईं, धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका कृष्ण पौडेल, सृजनशिल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका डम्बर बिमली र विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका मोहन शिवाकोटी रहेका छन् ।

यस्तै इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था कमलका चन्द्रकला भण्डारी, सगोल महिला कृषि सहकारी संस्था कनकाईका विन्दाकुमारी थापा, अभियान नेपाल सहकारी संस्था अर्जुनधाराका चन्द्रकला अधिकारी, सबैको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था कनकाईका पुष्पा उप्रेती र महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था अर्जुनधाराका गीता अधिकारीले उम्मेदवारी दिएका छन् ।

क्षेत्रीय सदस्यका रुपमा क्षेत्र नं. १ का लागि साना किसान कृषि सहकारी संस्था भद्रपुरका देवीमाया अधिकारी, क्षेत्र नं. ३ का लागि पथरिया साना किसान कृषि सहकारी संस्था कचनकवलका नवराज भट्टराई र क्षेत्र नं. ५ का लागि मेची सहकारी संस्था दमकका नारायणप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । क्षेत्र नं. २ र ४ का लागि भने २–२ जनाले मनोनयन दर्ता गराएका छन् ।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका केशव बस्नेत र गरामनी कृषि सहकारी संस्था बिर्तामोडका ताराप्रसाद चापागाईंले क्षेत्र नं. २ को क्षेत्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । यस्तै खुद्रा बचत तथा ऋण सहकारी सहकारी संस्था शिवसताक्षीका नारायणप्रसाद बजगाई र साना किसान कृषि सहकारी संस्था महाभाराका तिलकप्रसाद राजवंशीले क्षेत्र नं. ४ बाट क्षेत्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकका चूडामणि ओझा निर्विरोध निर्वाचित भएका छन् । समितिको दुईजना सदस्य पदका लागि तीन जनाको मनोनयन परेको छ । श्रद्धा कृषि सहकारी संस्था अर्जुनधाराका प्रेमसागर सापकोटा, सनसाइन बचत तथा ऋण सहकारी संस्था भद्रपुरका राजेन्द्रप्रसाद रिजाल र लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका सन्देश मल्लले लेखा सुपरीवेक्षण समिति सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिका सदस्य बगालेका अनुसार कोरोनाको कहरका कारण आम सहकारीकर्मी एकैपटक भेला भएर मतदानमा सहभागी हुँदा संक्रमण फैलने खतरासमेतलाई ध्यानमा राखेर सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको जनाएका छन् । निर्वाचन कार्यक्रम अनुसार यही माघ १० गते दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिने समय रहेकाले सो अवसरको सदुपयोग हुनेमा पनि उनले विश्वास व्यक्त गरेका छन् ।

सबै पदहरु निर्विरोध नभएमा आगामी माघ १७ गते मतदान मार्फत् संघको नेतृत्व चयन गर्नुपर्ने भएको छ । संशोधित विधानअनुसार संघमा १९ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने संघका अधिकृत संजय ढकालले जानकारी दिएका छन् ।

समाचार स्रोतका अनुसार दोहोरो उम्मेदवारी परेका पदका आकांक्षीहरुले मनोनयन फिर्ता लिने इच्छा देखाएका छैनन् । उनीहरु मतदानमार्फत् नै आफ्नो क्षमता जाँच्ने पक्षमा रहेको पाइनुले सर्वसम्मतको प्रयास सार्थक नहुने संकेत देखिएको हो । संघले गतवर्षको साधारणसभाबाट नै अधिवक्ता देवराज भण्डारीको संयोजकत्वमा खोमप्रसाद बगाले र सन्तोष आचार्य सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *