Sajhamanch Archive

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

Published: in अर्थतन्त्र, समाज by .

जनकपुरधाम । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा भनिएको छ ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *