Sajhamanch Archive

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, अलोकतान्त्रिक नबन्‍न चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले अपांगता भएकाहरुसँगको कार्यक्रममा संसद विघटनको विरोधमा बोल्नेहरू देशद्रोही भएको बताएका थिए । साथै ओलीले पुराना वकिल तथा अदालतप्रति गरेको टिप्पणीप्रति कांग्रेसले अत्यन्तै आपत्तिजनक भएको बताएको छ ।

आज एक विज्ञप्ति नै जारी गर्दै कांग्रेसले फरक मत, आफ्नो विचार र विरोध प्रकट गर्नु हरकोहीको नैसर्गिक अधिकार भएको भए पनि प्रधानमन्त्रीको यो भनाइ लोकतन्त्रविपरीत भएको लेखेको छ ।

प्रधानमन्त्रीको यो भनाइले उनमा अधिनायकवादको आकांक्षालाई थप उजागर गरेको कांग्रेसले भनेको छ। साथै सर्वोच्च अदालतमा भइरहेको तमासाको संज्ञा स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको पनि कांग्रेसले लेखेको छ ।

सम्मानित र पाका ज्येष्ठ नागरिकको अपमान समाजकै अपमान भएको भन्दै कांग्रेसले आलोचक पत्रकारलाई नर्क जान्छस् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति भएको र पूर्वप्रधानन्याधीशलाई अजासु भन्नु स्वतन्त्रताविरुद्धको बर्बराहट भएको पनि कांग्रेसले भनेको छ ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले पदको गरिमालाई धुलिसात गरेको र आफ्नोविरुद्ध उठेको स्वर र समुदाय हरेकलाई होच्याउने भइरहेको कांग्रेसले लेखेको छ ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीले चालेको कदम र संसद विघटनविरुद्ध उठेका विरोधका स्वरहरुलाई देशविरोधी भन्नु गैरजिम्मेवार भएको भन्दै लाञ्छित नगर्न र समाजको कुनै पनि पेसा समुदायलाई अपमान नगर्न पनि कांग्रेसले चेतावनी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *