Sajhamanch Archive

२८ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीवार खोप लगाउनेमध्ये प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई हजार एक सय ७४, वाग्मती प्रदेशमा ११ हजार चार सय ६१ र गण्डकी प्रदेशमा चार हजार आठ सय ५३ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा दुई हजार तीन सय तीन, कर्णालीमा एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार चार सय १७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म खोप लगाएका व्यक्तिहरूमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *