भद्रपुर नगरपालिकाद्वारा पुस ७ मा बालमैत्री घोषणा दिवस मनाउने निर्णय
Published: (Updated: )
by .भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रस्तावलाई नगरसभाले पारित गरेको बताइएको छ ।
यही पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँर्चौं बालमैत्री नगरपालिका बनेको छ । नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको रुपमा खुशीयालीस्वरुप पुस ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगरसभाले गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
नगरपालिकाले बालमैत्रीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धि एवम् ऐन–कानूनको पालना, बालबालिका सम्बन्धी राष्ट्रिय रणनीतिको पालनालगायत बालबालिकाको हितका ३९ वटा सुचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुन सफल भएको थियो । १ नं प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुस ७ गते एक समारोहका बीच भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेकी थिइन् ।
नगरसभाले बालबालिका सम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वांगीण विकासका लागि योजनाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, नगरसभाले चालु आवको ६ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरु पनि पारित गरेको थियो ।
Comments