Sajhamanch Archive

‘क्युएए’ पाउने प्रक्रियाको अन्तिम चरणमा त्रिदेव

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by .

मेचिनगर । उच्च शिक्षाको मूल्य मान्यतालाई अवलम्वन गर्दै सीमित साधन र स्रोतबाट सञ्चालन भईरहेको मेचीनगर-१३ चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरको विकास गर्ने नयाँ मोडमा प्रवेश गरेको छ ।

विश्व विद्यालय अनुदान आयोगले आव्हान गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accredetation -QAA) को अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेका हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको समकक्षी अध्ययन टोलीको समापन कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका समकक्षी टोलीका संयोजक प्रा.डा. केशरजंग बराल, विदेशी विषय विज्ञ प्रा.डा. हर्सिता एनीहरन, प्रा.डा.प्रदिपचन्द्र गौतम, क्याम्पस प्रमुख माधव प्याकुरेल लगायतले आ-आफना धारणा राखेका थिए ।

क्युएएको मान्यता प्रदान गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको यो अन्तिम अनुगमन भएको प्रा.डा. बरालले बताएका छन् । क्याम्पसले क्युएए पाउन अझै केही समस्याहरु रहेको र ती समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गर्न सझाव पनि दिएका छन् ।

पूर्व समकक्षी अध्ययन अवलोकन टोलीले दिएका सुझावहरुको कार्यान्वयन भए नभएका विषयमा स्थलगत अवलोकन गरी भए गरेका कामहरुको विषयमा गुणस्तर सुनिश्चितता प्रत्यायन काउन्सिलमा पेश गर्ने प्रा.डा. बरालले बताए ।

क्युएए मान्यता पाएपछि क्याम्पसको प्रमाणपत्रमा क्युएएको लोगो समावेश हुने र यहाँको प्रमाणपत्रले अन्तर्राष्ट्रिय समकक्षता प्राप्त गर्ने क्याम्पसका प्रमुख प्याकुरेलले बताए । क्युएएमा गएपछि क्याम्पसले शैक्षिक तथा भौतिक सुधारका लागि ठूलो मात्रामा आर्थिक सहयोग पाउने छ ।

क्याम्पसले क्युएएका लागि प्रस्ताव बुझाए यता क्युएए दिने कि नदिने भनेर प्रतिवेदन तयार गर्ने उद्देश्यले त्रिविको टोली गत फागुन ३ गते क्याम्पसको अनुगमनमा आएको हो । टोलीले क्याम्पसको आर्थिक, शैक्षिक, प्रशासनिक, भौतिक लगायतका पूर्वाधार र क्षमताको विषयमा अध्ययन र अनुगमन गरेको क्याम्पस प्रमुख  प्याकुरेलले जानकारी दिए ।

उक्त समापन कार्यक्रमको सञ्चालन विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि ममता प्रजापतिले गरेकी थिइन् ।

चार दिवसीय स्थलगत अवलोकनका क्रममा क्युएएको टोलीले विभिन्न समयमा सञ्चालक समिति, क्याम्पसका प्राध्यापक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायतसँग बसेर अन्तरक्रिया गरेको थियो ।

क्युएए भनेको विश्व बैङ्कले विश्वविद्यालय अनुदान आयोग (युएसजी)को सहकार्यमा नेपालका क्याम्पसहरुको गुणस्तर बढाउने ल्याएको कार्यक्रम हो । यसमा पर्न क्याम्पसहरुले पहल गरिरहेका छन् । पछिल्लो समय त्रिदेव क्याम्पस यसका लागि छनौट भएको छ ।

क्याम्पसले अनुदान आयोगको सहयोगमा भौतिक स्तर उन्नतिका लागि क्याम्पसको भवन निर्माण, फर्निचर, सिसि क्यामेरा जडान, विद्यार्थी विवरण, लेखा प्रणाली, पुस्तकालय लगायत कामलाई व्यवस्थित गर्न सफ्टवेयर मार्फत कामहरु गरेको छ । क्याम्पस वि.सं.२०७२ सालदेखि क्युएएको मान्यता पाउन अनवरत रुपमा लागि परेको छ ।

त्रिदेव क्याम्पस वि.स.२०६४ सालमा स्थापना भएको मेची अञ्चलको एक उत्कृष्ट सामुदायिक क्याम्पस हो । सुरुका वर्षमा शिक्षाशास्त्र संकाय स्नातक तहका कक्षाहरु संचालन भइरहेको अवस्थामा शिक्षाको बढ्दो माग र विद्यार्थीका आकांक्षा अनुरुप यस क्याम्पसमा व्यवस्थापन संकायको स्नातक तहका कक्षा संचालन गर्नुपर्ने आवश्यकता महसुस गरी पुनः वि.स. २०६६ सालदेखि उक्त संकायका कक्षाहरु समेत संचालन भई रहेका छन् । यस क्षेत्रको माग अनुसार वि.सं. २०७५ सालमा त्रि.वि. बाट सम्बन्धन लिई शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तह (एम.एड.) मा अंग्रेजी र इ.पी.एम. विषयका कक्षाहरु सञ्चालित छन् । हाल यस क्याम्पसमा ७२२ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पसकी सहा-प्राध्यापक सावित्रा दाहालले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *