Sajhamanch Archive

लयमा फर्किंदै आयात

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ ।

अघिल्लो वर्ष २०७६/०७७ को यही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो । अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो तथ्यांकले कोभिड—१९ को महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ । कोभिड महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो ।

पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । गत पुससम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। आयात पुरानै लयमा फर्किंदै गर्दा व्यापार घाटा भने बढ्ने क्रम सुरु भएको छ ।

पहिलो ६ महिनासम्म आयात दर घट्दो र निर्यात दर बढ्दो भएर व्यापार घाटा सुधारोन्मुख अवस्थामा भए पनि पछिल्लो सातौं महिनाको आयात दर वृद्धि भएर व्यापार घाटा बढ्ने भएको छ ।

                                                                                                           अन्नपूर्ण पोस्ट् दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *