Sajhamanch Archive

प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, दुई पक्राउ

Published: (Updated: ) in समाज by .

विराटनगर । शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

उर्लाबारी नगरपालिका–५ का प्रवीनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुईजना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो ।

प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

सोही मुद्दामा प्रवीनका साथीहरू उर्लावारी–६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको शव भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न दुईजना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

‘प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेकखाले टिकाटिप्पणी गरेको पाइयो’ एसपी खड्काले भने, ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौं ।’ खड्काले सामाजिक सञ्जालमा अनुसन्धान प्रतिवेदन नक्कली बनाइयो भनेर प्रहरीलाई आरोप लगाए पनि त्यसो नभएको स्पस्ट पारे ।

प्रवीनको पुस ५ गते शव भेटिएको थिए । प्रवीनका बुबा प्रेमले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेलीविरुद्ध किटानी जाहेरी दिए । प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाइ भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते छोडिदियो ।

जिल्ला सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम प्रतिवादी छोडिएपछि घटनामा प्रहरीको मिलेमतो रहेको मृतक परिवारले आशंका गरे । अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा परिवारजनले नाराबाजीसमेत गरे ।

उनीहरूले मंगलबार विराटनगरस्थित सरकारी वकिलको कार्यालयसमेत घेराउ गरेका थिए । प्रवीनको मिसिलमा प्रहरीले गल्त फोटो राखेको पाइएपछि आफन्तजन थप सशंकित बनेका हुन् ।

                                                                                                                      थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *