शिवसताक्षीमा बृहत साहित्यिक कार्यक्रम हुने
Published:
by .शिवसताक्षी । झापाको माइधारमा बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ ।
मौलिक साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ यहि फाल्गुण २२ गते शनिबारका दिन शिवसताक्षी १० को फाल्गुनन्द चौक स्थित कभर्ड हलमा उक्त कार्यक्रम सम्पन्न्न हुने भएको हो ।
शिवसताक्षी नगरपालिका वडा नं. १० को आर्थिक सहयोग तथा कैलाश शिखर फाउण्डेशन र सतासी–८ फाउण्डेशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको आयोजक समितिका सदस्य पुष्प पौडेलले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार र्शेमा रहने छन् भने कार्यक्रमको केन्द्रविन्दुको रुपमा रहेका वरिष्ठ गीतकार तथा कवि श्रवण मुकारुङ र वरिष्ठ गायक कुबेर राईको विशेष प्रस्तुति रहनेछ । कवि मुकारुङ विशे नगर्चीको बयान कविताबाट ख्याती कमाएका कवि हुन् भने राई मायाले मूलबाटो भुलेछ भन्ने गीतबाट ख्याती कमाएका गायक हुन् । कार्यक्रममा स्थानीय गायक तथा नृत्यकारहरुको बजोड प्रस्तुति हुनेछ भने कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, पाँँचथर लगायतका स्थानमा रहेर कलम चलाउने कविहरुले कविता समेत वाचन गर्नेछन् ।
कार्यक्रममा शिवसताक्षी १० मा रहेर विभिन्न सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्ने कैलाश शिखर फाउण्डेसनका सचिव पदम कुँवरलाई नगद सहित सम्मान पत्र, दोसल्लाले सम्मानित गरिनेछ । उक्त सम्मान शिवसताक्षी १० मै लामो समयदेखि सामाजिक सेवामा लागेका सतासी–८ फाउण्डेसनले गर्ने फाउण्डेसनका अध्यक्ष इन्द्रबहादुर योङहाङ (अशोक)ले साप्ताहिकलाई जानकारी गराएका छन् ।
Comments