Sajhamanch Archive

भद्रपुरमा हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सम्बन्धी अभिमुखीकरण

Published: (Updated: ) in विविधा by .

भद्रपुर । यही चैत २० गतेदेखि सञ्चालन हुन लागेको हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन झापाको भद्रपुरमा प्रचारात्मक अभियान शुरु गरिएको छ ।

हात्तपिाइले रोग निवारणका आमऔषधि सेवन कार्यलाई प्रभावकारी र फलदायी बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले मंगलबार नगरस्तरीय योजना तर्जुमा गोष्ठी तथा अभिमुखीकरण सम्पन्न गरेको छ ।

नगर स्वास्थ्य शाखाको आयोजनामा नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरुको सहभागितामा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आम औषधि सेवन कार्यक्रम सफल बनाउन सबै पक्षले सहयोग पुर्याउनुपर्ने बताए । उनले विगतमा विभिन्न भ्रमका कारण राज्यले प्रक्षेपण गरेको लक्ष्य पूरा गर्न नसकिएको बताउँदै सबैले ढुक्कसँग औषधि सेवन गर्ने वातावरण बनाउन यसका सकारात्मक पक्षहरुका बारे सर्वसाधारणमा चेतना फैलाउनुपर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाका मनोज भट्टराईले गरेका थिए । भद्रपुरमा ५८ हजार ६०४ जनालाई आत्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको उनले बताए ।

क्युलेक्स जातको पोथी लामखुट्टेले हात्तीपाइले गराउने गर्दछ । नेपालमा सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन गरिएको हो । वर्षमा एकपटक गरी लगातार पाँच वर्षसम्म डीइसी र एडबन्डाजोल नाम औषधि सेवन गर्दा होत्तीपाइलेको संक्रमणबाट जोगिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भद्रपुर नगर स्वास्थ्य शाखाले अब वडा तथा टोलस्तरमा र स्वास्थ्यर्मीहरुका लागि अभिमुखीकरण सञ्चालन गर्ने भट्टराईले जानकारी दिए ।

उपप्रमुख चन्द्रा श्रेष्ठसमेतको उपस्थिति रहेको नगरस्तरीय अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेललगायतले टोलस्तरसम्म चेतनामूलक अभियानमार्फत जनमानसमा कार्यक्रमको महत्व बारे विश्वस्त तुल्याउनुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *