Sajhamanch Archive

दुई सन्तान नीति हटाउने तयारीमा चीन, यस्तो छ कारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

चीन । चीन सरकारले दुई सन्तानभन्दा बढी जन्मदरमा लगाउँदै आएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बढ्दो वृद्ध जनसंख्या र खस्कँदो जन्मदरबीच चीनले यस्तो संकेत गरेको हो ।

विद्यमान परिवार नियोजनसम्बन्धी नियमअनुसार अधिकांश चिनियाँ दम्पतीले दुई सन्तान मात्र जन्माउन पाउँछन् । चीनले त्यहाँको ‘अलोकप्रिय’ एक सन्तान नीतिलाई सन् २०१६ मा खारेज गरेपछि दुई सन्तान नीति लागू भएको थियो । देशको नागरिक संहितासम्बन्धी सुधारअन्तर्गत दुई सन्तान मात्र जन्माउन पाउने नीतिलाई खुकुलो पार्न लागिएको हो । सो नीति लागू भएमा दशकौँपछि पहिलोपटक चिनियाँ अभिभावकले दुईभन्दा बढी सन्तान जन्माउन पाउनेछन् ।

परिवार नियोजनसम्बन्धी विधेयक पेस हुँदै
चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसले परिवार नियोजनको दुई सन्तानपछि परिवार नियोजन गर्नैपर्ने औचित्यलाई असान्दर्भिक ठहर गरेको छ । अधिकांश सांसदले दुईभन्दा बढी सन्तान जन्माउन पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन् । दुईभन्दा बढी सन्तान जन्माउन पाउने परिवार नियोजनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सो विधेयक पारित भएमा दुई वर्षपछि लागू हुने जनाइएको छ । तीन सन्तान मात्र जन्माउन अनुमति दिने वा इच्छाअनुसार बच्चा जन्माउन छुट दिने भन्नेबारेमा केही खुलाइएको छैन । तर, परिवार नियोजनसम्बन्धी विद्यमान कठोर नियम भने पूर्ण रूपमा परिवर्तन हुने विज्ञहरूले औँल्याएका छन् ।

‘सरकार विद्यमान दुई सन्तान नीति परिमार्जन गर्ने तयारीमा छ । भविष्यमा चिनियाँ दम्पतीले आफ्नो चाहनाअनुसार सन्तान जन्माउन पाउनेछन्,’ युनिभर्सिटी कलेज लन्डनको इन्स्टिच्युट फर ग्लोबल हेल्थका प्राध्यापक थेरिसी हेसकेथ भन्छन् ।

जन्मदरमा वृद्धि भएन
जन्मदरमा क्रमिक रूपमा गिरावट आएपछि र जनसंख्या घटेपछि चीनले सन् २०१५ मा एक सन्तान नीति अनिवार्य नभएको घोषणा गरेको थियो । सरकारले दुई सन्तान जन्माउन प्रोत्साहन गरे पनि जन्मदरमा खासै वृद्धि नभएको विज्ञहरूले बताउँदै आएका छन् । ‘दम्पतीले सन्तान जन्माउने विषय राष्ट्रको जल्दोबल्दो मुद्दा बनेको’ सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले दुई साताअघि जारी गरेको एउटा रिपोर्टमा जनाइएको छ ।

एक सन्तान नीति खुकुलो बनाउँदा पनि चीनको जन्मदरमा खासै वृद्धि हुन नसकेको विभिन्न तथ्यांकले देखाएको छ । सन् २०१७ मा देशको कुल प्रजनन दर प्रतिमहिला १ दशमलव ६ बालबालिका थियो । सो दर चिनियाँ जनसंख्यालाई निरन्तरता दिन आवश्यक २ दशमलव १ प्रजनन दरभन्दा न्यून थियो ।

‘एक सन्तान नीति खुकुलो बनाउँदा जन्मदरमा सरकारले अनुमान र अपेक्षा गरेजस्तो खासै परिवर्तन भएन,’ ह्युमन राइट वाचका वरिष्ठ अनुसन्धानकर्ता माया वाङ भन्छन् । विद्यमान जनसंख्याको अवस्थालाई मध्यनजर गर्दै चीन सरकारले जनसंख्या बढाउने थप विकल्प सोचिरहेको उनले बताए । ‘चीन सन्तान जन्माउने नीतिलाई खुकुलो बनाउने तयारीमा छ,’ उनले भने ।

सहरीया जनसंख्या घट्दो
जनसंख्या नियन्त्रणबाहिर जान लागेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले सन् १९९७ मा एक सन्तान नीति लागू गरेको थियो । तर, परिवार नियोजन नीतिका कारण युवाको संख्या घट्नुका साथै वृद्ध जनसंख्या बढिरहेको थियो । एक सन्तान नीतिले देशको जनसंख्यामा नकारात्मक प्रभाव पारेको भन्दै केही चिनियाँ विज्ञहरूले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका थिए ।

‘विशेषगरी सहरी क्षेत्रमा युवा जनसंख्या घट्दो अवस्थामा छ,’ पिपुल्स डेलीले यसै महिनाको अन्त्यमा जारी गरेको एक प्रतिवेदनमा भनिएको छ । ‘सहरमा बसोवास गर्ने मानिस बच्चा जन्माउन अनिच्छुक हुँदा चिनियाँ जनसंख्यामा निरन्तर गिरावट आएको छ,’ सो रिपोर्टमा भनिएको छ । एक सन्तान नीति लागू भएपछि ६५ वर्षमाथिको जनसंख्या ४ प्रतिशतबाट १० प्रतिशत पुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *