Sajhamanch Archive

चैत्र ९ गतेबाट मेची रङ्गशालामा नकाउट कबड्डी प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by .

भद्रपुर । भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास समिति भद्रपुरको आयोजनामा नगरका १० वटा वडा बीच प्रतियोगिता हुने गरी पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो ।

चैत ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले शनिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । एक वर्षयता कोरोनाका कारण रोकिएको खेल गतिविधि तन्दुरुस्त बनाउन नगर खेलकुद विकास समिति लागि परेको जानकारी गराउँदै समितिका संयोजक श्यामकुमार राउतले क्रिकेट र फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको जानकारी दिए भने कबड्डी चैत्र ९ गतेबाट सुरु भइ १३ गते समापन हुने जानाउँदै नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते भद्रपुर नगर स्तरीय महिला तथा पुरुषतर्फ खुला दौड प्रतियोगिता समेत हुने प्रष्टयाएका छन् ।

कबड्डी प्रतियोगिता सञ्चालनका लागि २ लाख ६० हजार खर्च हुने कार्यक्रम संयोजक तथा कबड्डी प्रशिक्षक रतिया राजवंशीले जनाएका छन् । नगरका १० वटा वडाबाट पुरुष र महिला गरी २० वटा टिमले भाग लिने छन् । एउटा टिममा १० जना खेलाडी हुनेछन् । त्यसमा ७ जना खेलाडी मैदानमा उत्रिने उनले बताए । महिलातर्फ ७५ केजी र पुरुषतर्फ ८० केजी तौल समूहका खेलाडीले भाग लिन पाउने जनाइएको छ ।

महिला तथा पुरुष दुवैतर्फ विजेता हुने टिमलाई नगद २०–२० हजार र उपविजेता टिमलाई १०–१० हजार नगदसहित शिल्ड तथा मेडलले पुरस्कृत गरिनेछ । तेस्रो हुने टिमलाई नगद ५–५ हजार प्रदान गरिने उनले बताए । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा भाग लिएका नगरका पूर्व खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिने प्रमुख प्रशिक्षक राजवंशीले जानकारी दिएका छन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कबड्डी प्रशिक्षक रतिया राजवंशी, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेमबहादुर भुजेलले नगर भित्र भएका खेलकुद गतिविधि र उपलब्धी सहितको धारण राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *