Sajhamanch Archive

लिम्बुवानले जिल्ला प्रशासन घेर्दै बुझायो ज्ञापन पत्र

Published: in समाज by .

भद्रपुर । प्रदेश १ को नामाकरण गर्दा लिम्बुवान हुनु पर्ने, औद्योगिक पार्क निर्माण गर्दा मुअब्जा वितरण न्यायोचित हुनु पर्ने तथा दमक स्थित आदिवासी जनजाति रङ्गशालाको नाम परिवर्तन गर्नु नहुने भन्दै संघीय लिम्बुवान मञ्च नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विगतका सहमतिको उल्लङ्घन गर्दै स्वच्छाचारी ढंगले अगाडि बढेर मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला नामकरण गरेको, लिम्वुवानको पहिचान खोस्ने प्रयास गरेको, चिनिया लगानीमा निर्माण गरिने भनिएको औद्योगिक पार्क क्षेत्रका बासिन्दालाई दिइनु पर्ने मुआब्जामा अन्याय गरेको भन्दै विरोध स्वरूप मञ्चले झापा प्रशासन कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका अध्यक्ष धनबहादुर पंधाकको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ११ बुँदे मागसहितको सो ज्ञापनपत्र बुझाएका हुन् ।

साविक तोपगाछी गाविस हाल कमल गाउँपालिका पाडाजुँगी उत्तर सशस्त्र प्रहरी पूर्वको सरकारी खाली जमिनमा आदिवासी जनजाति समुदायको अन्त्येष्टि स्थललाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन मन्त्री विद्यादेवी भण्डारी, प्रहरी प्रशासन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको साझा सहमतिमा सो स्थानलाई आदिवासी जनजाति अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने निर्णय गरेको थियो ।

साथै केही रकम समेत विनियोजन गरेर काम सुरु गर्ने तयारी समेत गरिएको थियो । आदिवासीहरूको ऐतिहासिक स्थललाई मास्दै आदिवासीहरुको अस्तित्वमाथि नै वर्तमान प्रधानमन्त्री ओलीले उल्लङ्घन सुरु गरेकामा सङ्घीय लिम्बुवान मञ्च नेपालले घोर आपत्ति जनाएका छन् ।

आदिवासी जनजातिको नाममा रङ्गशालाको नाम राख्दा बजेट नआउने तर मदन भण्डारीको नाममा बजेट आउने यो न्याय सङ्गत हो रु लाखौँ लाख आदिवासी जनजातिहरूको आस्था, विश्वास र पहिचान मेटिने पहिचानकोविरुद्धमा एक जुट भई प्रतिकार गर्ने र सम्झौता अनुसार कार्यान्वयन नभएमा सशक्त आन्दोलनमा उत्रिने ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै लिम्बुवान भूमि भित्र निर्माण गरिएका दीर्घकालीन आयोजनामा पहिचानवादीलाई पाखा लगाउने प्रति पार्टीको गम्भीर ध्यानाकर्षणसँगै प्रधानमन्त्री ओलीले गत फागुन १६ गते दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा शिलान्यास गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्क के हो रु सो पार्कमा के के निर्माण गरिने हो रु त्यसको वास्तविकता हाम्रो पार्टीलाई थाहा हुनु प¥यो ।

पार्क बन्ने भनिएको स्थानमा जनताको जमिनको मुआब्जा वितरणमा वैज्ञानिकता भएन भनी संर्घष समिति गठन गरी आवाज उठाइ रहेकोमा हालसम्म त्यसको सुनुवाइ नभएको पत्रमा उल्लेख छ । समस्त किराँत समुदायको धर्म, संस्कृति, आस्था, विश्वास र पहिचानसँग जोडिएको खुवालुङ्ग ढुङ्गाको पहिचान र इतिहासलाई नै मास्ने गरी ओली सरकारले क्रियाकलाप सञ्चालन गरेकोले त्यसको घोर आपत्तिसँगै भर्त्सना गर्दछौ ।

त्यसैगरी प्रदेश १ को नामकरण लिम्बुवान किरात खम्बुमान राख्नु पर्छ, पहिचान सिद्ध्याउने नामकरण यस मञ्चलाई स्वीकार्य हुने छैन, लिम्बुवान आन्दोलनकारी माथि लगाइएका झुटा मुद्दा तुरुन्त खारेज गर्नुपर्ने, दोस्रो लहरको कोरोना भाइरसको कोरोना संक्रमण रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्छ, वायु प्रदूषण बढ्दै गएकाले वन तथा वातावरण विनाश तत्काल रोक्नु पर्ने, ताप्लेजुङस्थित मुक्कुमलुङ मुन्धुमी पहाड लिम्बु समुदायको पवित्र धर्मग्रन्थ भएकोले त्यस पहाडलाई एकलौटी रुपमा पाथीभरा भनिँदै आएको त्यसको नामकरण मुक्कुमलुङ हुनु पर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *