कोरोनाको कहरः शिवसताक्षी नगरपालिकाद्वारा शैक्षिक संस्था र हाडबजार बन्द, २५ जना भन्दा बढी भेला हुन रोक
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यनिकरण गर्न २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । गएको १३ गते बसेको डीसीसीएमसी. को निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको हो ।
नगरपालिकाले नगर क्षेत्र भित्र लाग्ने साप्ताहिक हाडबजार पनि बैशाख मसान्तसम्मका लागि बन्द गराएको छ । शैक्षिक संस्था, पार्टी प्यालेस, डान्स बार, जिमखाना, आम सभा, जुलुस लगायत बढी भिडभाड हुने कार्यक्रमहरु सबै बैसाख बसान्त सम्म बन्द गरिएको नगरपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
मोठ मन्दिर, गुम्बा, चर्ज, मस्जित लगायत धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड अपनाई नित्य पुजा आजा, ध्यान प्रार्थना गर्न पाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
धार्मिक कर्महरु विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठान, पुराण जस्ता धार्मिक तथा सास्कृतिक कृयाकलापहरु भरसक नगर्ने, गर्नै पर्ने भएमा सम्वन्धित वडा कार्यालय तथा प्रहरी कार्यालयमा जानकारी गराई सुरक्षा मापदण्ड भित्र रही २५ जना भन्दा बढीको भेला नहुने गरी गर्न नगरबासीलाई अनुरोध गरिएको छ ।
नगर क्षेत्रभित्रका होटलहरु विहान ८ बजेबाट बेलुकी ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने नगरपालिकाले जनाएको छ ।
त्यस्तै गरी नगरपालिकाले नगर भित्रका कोरोना संक्रमतिको लागि नगरको कोभिड अस्पतालमा २५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माका अनुसार नगर क्षेत्र भित्र रहेका कोरोना संक्रमितलाई नगरपालिकालाले आफ्नै कोभिड अस्पतालमा उपचार गर्ने छ । अन्य क्षेत्रभित्र अन्य ठाउँबाट आउनु परे नगरलाई जानकारी गराई नगरको क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।
Comments