समृद्धिको लागि सूचनाको हकः लिङदेन
Published: (Updated: )
by .हल्दिवारी । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले समृद्धिका लागि पारदर्शिता जरुरी रहेको बताएका छन् । उनले हरेक क्षेत्रमा पारदर्शीता भए समृद्धिको यात्रा सफल हुने ठोकुवा गरेका छन् ।
सूचनाको हक सम्बन्धि एक दिने सचेतना कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सूचनाको हक प्रयोगले पारदर्शितामा ठुलो सहयोग हुने बताए । संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेकाले यसको व्यवहारिक प्रयोग नागरिककै तहबाट हुनुपर्ने उनको भनाई थियो ।
टाइम्स मिडिया नेटवर्क विर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिकाको सहयोगमा भएको सचेतना कार्यक्रममा सो क्षेत्रका ७० भन्दा बढि सहभागी थिए । सहभागीलाई अध्यक्ष लिङदेनले आफ्नो गाउँपालिकालाई चिनाउन सूचनाको हकलाई प्रभावकारी कार्यन्वयन गर्न भनेका छन् । उनले गाउँपालिकाले समेत सूचना उपलब्ध गराउने सन्दर्भमा कानुन बमोजिम उपलब्ध गराउने जनाएका छन् ।
सचेतना कार्यक्रममा आरटिआई फाउण्डेशन विराटनगरका राजु श्रेष्ठले सहजीकरण गरेका थिए । सहभागीले आफ्नो क्षेत्रका समस्यालाई समेत सूचनाको हक प्रयोग गर्ने बारे जानकारी लिएका छन् । कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल,वडाध्यक्षहरु त्रिलोचन सापकोटा, रोशन शिवाकोटी,होमप्रसाद चुडाल लगायतले सूचनाको हक प्रयोग गरेर सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हाग्रह गरेका थिए । कार्यक्रम टाइम्स मिडिया नेटवर्कका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments