Sajhamanch Archive

नङ टोक्ने बानी छ भने अवश्य पढ्नुहोस्

Published: in रोचक कुरा / टिप्स by .

हात सफा हुनको लागी हातको औंलाको टुप्पो सफा हुनु जरुरी छ भनेर सन् १९७० तिर आएर पत्ता लाग्यो। वैज्ञानिकहरुले सबैभन्दा धेरै किटाणु नङमुनि रहने पत्ता लगाए ।

नङ हात धोएको धेरै समयसम्म पनि ओसिलो रहने भएकाले यस ठाउँमा ब्याक्टेरियाले सजिलैसंग संक्रमण गर्छ ।

सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।

नङमुनि साबुन पुग्न गाह्रो हुने भएकाले यस ठाउँ राम्रोसंग सफा हुन पाउदैन । जसले गर्दा ब्याक्टेरिया यस ठाउँमा मजाले वृद्धि हुन्छ । यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ।

सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए। यसपछि एउटा अनुसन्धान गरियो। अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो। परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो। यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन।

साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए। सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो।

नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन्। तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ। सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो।

यी अनुसन्धानबाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ। यसो गरे हात पूर्णतया कीटाणूमुक्त नभए पनि निकै न्यून हुन्छ। भर्खर पालिस लगाएको नङमुनि थोरै कीटाणू हुन्छन्। तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने कीटाणूको संख्यामा वृद्धि भइहाल्छ।

बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ। सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ। र, हामीले आफ्ना नङ नपाल्ने र हात सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ।

धेरै मानिसको नङ टोक्ने बानी हुन्छ। नङ कीटाणूको भण्डार भन्ने थाहा पाइसकेपछि अझै नङ टोक्नु हुन्छ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *