Sajhamanch Archive

अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना, पाँचजनाको शव फेला

Published: in राष्ट्रिय समाचार by .

धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदैगर्दा सम्पर्कविहीन भएको अल्टिच्युड एअरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर–१, बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरकाअनुसार घटनास्थलमा पाँचजनाको शव भेटिएको छ । एकजनालाई अचेत अवस्थामा उद्धार गरिएको छ ।

घटनास्थलमा पाँचजनाको शव भेटिएपनि कसैको सनाखत हुन नसकेको कुँवरले टेलिफोनमा जानकारी दिएका छन् ।

शनिबार बिहानैदेखि बाक्लो कुहिरो लागेकाले दुर्घटनास्थल पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो ।

हेलिकोप्टरमा सातजना सवार भनिएपनि एक यात्रीको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा भेटिएको शवलाई काठमाडौं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिए ।

शनिबार बिहान ६ः५७ मा उडेको कलसाइन ९ एनएएलएसको हेलिकोप्टर उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो ।

सो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिइ शनिबारै बिहान गोरखाको सामागाउँ पुगेको थियो । त्यहाँ पर्यटक छाडी एक क्याप्टेन र ६ जना यात्री सवार हेलिकोप्टर काठमाडौंका लागि उडेको एअरलाइन्सले जनाएको छ ।

हेलिकोप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टीके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१, सम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जनाएको छ ।

यसअघि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भने धादिङको सत्यदेवी स्थान आसपासको घनाजंगल क्षेत्रमा विमान दुर्घटना भएको जनाएको थियो ।

इमेज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *