प्रेमिकालाई विष खुवाएर चिच्याउन थालेपछि छुरी हानी हत्या
Published:
by .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा गत भदौ-१ गते हत्या गरिएकी विराटनगरकी शिखा घिमिरेलाई उनका प्रेमी भनिएका दिनेश भट्टराईले पहिले विष खुवाएर चिच्याउन थालेपछि छुरी हानेको बयान दिएका छन्।
सरकारी वकिलको कार्यालयले तयार पारेको ६ पृष्ठ लामो अभियोग पत्रमा उल्लेखित भट्टराईको बयानमा शिखा र आफूबीच प्रेमसम्बन्ध रहेको र धोका हुने शंका लागेर हत्याको योजना बुनेको उल्लेख छ। उनले बयानका क्रममा शिखालाई अष्ट्रेलिया जानका लागि आयल्स पढाउनका लागि आफूले ४० हजार खर्च गरेको पनि दाबी गरेका छन्।
विराटनगर १३ की २३ वर्षीया शिखा घिमिरेलाई ग्रामथान गाउँपालिकाको नहर छेउमा लगेर छिमेकी दिनेश भट्टराईले हत्या गरेको प्रहरीको दाबी छ। ‘शिखालाई काठमाडौंको टिकट काटेर पठाउने अघिल्लो दिन राति मेरो मनमा धेरै कुरा खेल्यो, निजले धोका दियो भने म बर्बाद हुन्छु, पैसाको नास हुन्छ, मेरो डिप्रेसन ठीक नभई अष्ट्रेलिया जान पाउँदिनँ, मनमा टेन्सन भए डिप्रेसन ठीक हुँदैन मलाई शिखाले धोका दिन्छ म अब बर्बाद भए भन्ने लाग्यो’, प्रहरीलाई भट्टराईले दिएको बयानमा उल्लेख छ, ‘अन्ततः मैले शिखालाई नमारी सुख पाउँदिन निजलाई मार्छु भन्ने निष्कर्षमा पुगी कुनै एकान्त स्थानमा लगेर मार्छु र म पनि मर्छु भन्ने मनमा योजना बनेको हो।’
आफूले शिखालाई मार्ने योजनाका साथ भदौ १ गते बिहान सिलगढी गई क्रिम लिएर आउँछु स्कुटरमा मलाई राजमार्गसम्म लैजाऊ, केही समय घुमौँ पनि भनी शिखाको स्कुटीमा घटनास्थलसम्म पुगेको पनि उनले बयान दिएका छन्। त्यहाँ जाँदा आफूले झोलामा धारिलो हतियार दाउ, छुरा, तिखो हतियार पेचकस, बोरा सिलाउने खापसियो र कमाण्डो नामको विषादीसमेत राखेको बयानमा उल्लेख छ। शिखाको खुट्टामा घाउ भएको र त्यही घाउ निको बनाउन भन्दै विष खान लगाएको भट्टराईले बयान दिएका छन्।
‘घटनास्थलमा आई गफ गरिरहेको बेला मैले निज शिखा घिमिरेलाई झोलामा भएको कमाण्डो नामको विषादी तिम्रो खुट्टामा भएको एलर्जीको दबाइ हो खाऊ भनी खान दिएँ,’ बयानमा उल्लेख छ, ‘विषादी खाएपछि निज शिखाले पेट पोल्यो विष खान दिएको हो कि के हो भनी कराउन थालेपछि झोलाबाट छुरी निकाली चारपटक छुराले निजको घाँटीमा घोच्दा शिखाले प्रतिवाद गरी हल्ला गर्न थालेपछि मैले दाउले निजको टाउको अनुहारको भागमा पटक-पटक प्रहार गरी निजलाई घटनास्थलमा नै कर्तव्य गरी मारी नहरको छेउबाट भाग्दै गर्दा स्थानीय मानिसले मलाई पक्राउ गरेको हो।’
Comments