Sajhamanch Archive

भदौमै दशैं : भदौ २५ गतेनै घटस्थापना

Published: in समाज by .

गोरखा । यो सालको पञ्चाङगमा नेपाली हिन्दुहरुको प्रमुख चाड दशैंको घटस्थापना असोज २४ गते भनेर लेखिएको छ । तिथि अनुसार असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि १५ दिनसम्म दशैं मनाइन्छ ।

तर गोरखामा भने भदौ शुक्ल प्रतिपदाका दिन अर्थात भदौ २५ गतेनै घटस्थापना गरि दशैंलाई स्वागत गरिएको छ । एक दुई परिवारले पनि होइन, जिल्लाको सदरमुकाम सहित आसपासका साविकका ५ गाविसका १५ हजारभन्दा बढीले भाद्र शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि दशैंको तयारी थालेका हुन्, जुन क्रम केही वर्षयता जारी छ । सोही क्रममा सदरमुकामको राधावल्लभेश्वर मन्दिरमा पनि विधिपूर्वक सामूहिक रुपमा जमरा राखिएको छ ।

अहिले कार्यान्वयनमा रहेको पात्रोलाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै उनीहरुले एक महिनाअघिनै दशैं मनाउन लागेका हुन् ।  यसरी दशैं मनाउनेहरुले पर्व सुधारका लागि भदौमै दशैं मनाउनु परेको तर्क गर्छन् । पर्व सुधारको अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन दबाब दिने उद्देश्यले एक  महिना अघिनै दशैं मनाउनु परेको एक अभियन्ता गोरखा बजारका किशोर रेग्मीले बताउनुभयो ।  विगत लामो समयदेखि पर्व सुधारको अभियानमा लाग्दै आएका इञ्जिनियर हरि मल्लको अगुवाइमा ६ वर्षदेखि गोरखाका विभिन्न ठाउँका बासिन्दाले बर्सेनि सामूहिक रुपमा भेला भएर विजया दशमी आउनु एक महिना अघिनै दशैं मनाउँदै आएका हुन् ।

किन एक महिना अघि नै दशैं ?

हिन्दु धर्मावलम्बीहरु आफ्ना सबैजसो संस्कार पात्रोका आधारमा सम्पन्न गर्छन् । पात्रो अर्थात् पञ्चाङग निर्माणको आधार सूर्यलगायत ग्रहलाई आधार मानेर गरिन्छ । जसलाई समग्रमा खगोल विज्ञान भनिन्छ । खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ ।

दिन दिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने गोरखामा पर्व सुधारको अभियान चलाउँदै आएका किशोर रेग्मी बताउनुहुन्छ । नेपालको पात्रो २ हजार वर्षदेखि अद्यावधिक नगरिएको बताउँदै उहाँ भन्नुहुन्छ, “२ हजार वर्षमा २७ दिन हराइसक्यो, त्यसैले पात्रोमा सुधार गर्नु जरुरी छ ।”

मेकानिकल इन्जिनियर हरिनारायण मल्ललगायतले झण्डै एक दशकअघि यही तर्क पञ्चाङग निर्णायक समितिमा राखे । समिति पनि पात्रो सुधारका लागि राजी भएपछि २०६७ सालमा मन्त्रिपरिषदमा एउटा प्रस्ताव पुग्यो । सबै ज्योतिषसँग बसेर पञ्चाङग निर्णायक समितिले निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको उक्त प्रस्तावमा पात्रो मिलाउनका लागि चैत महिना हटाएर एकै पटक वैशाख सुरु गर्ने लगायतका कुरा उल्लेख गरिएको थियो ।  तर मन्त्रिपरिषदले स्वीकृत गरेको उक्त प्रस्ताव कार्यान्वयनमा आउन सकेन ।

त्यसको कार्यान्वयनका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति पनि बनेको छ । सहसचिवको नेतृत्वमा बनेको यो समितिमा विभिन्न ज्योतिषहरु पनि आवद्ध छन् । मन्त्रिपरिषदको त्यो निर्णय समेतलाई आधार मानेर एक महिना अघि दशैं मनाउन थालिएको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्यहरु बताउँछन् ।

अधिकारकर्मी रेग्मीको तर्क छ, “सूर्य मकर रेखामा प्रवेश गरेको भनेर माघ १ गते मकर स्रक्रान्ति मनाइन्छ, तर पात्रोमा हेर्ने हो भने सूर्य पुष ६ गतेनै मकर रेखामा पुग्छ ।” त्यसैले पात्रोबाट एक महिना झिकेपछि सबै पर्व विज्ञानसम्मत रुपमा मनाउन सकिने उहाँको भनाई छ ।

अहिले दशैं मनाउन लागेकाहरुले एक महिनापछिको अर्को दशैं पनि मनाउने बताएका छन् । “सरकारले एक महिनापछि बिदा दिन्छ ।” एक अभियन्ता भन्छन्, “छोराछोरी, भाञ्जाभाञ्जी सबै त्यतिबेलै आउँछन्, अनि फेरि मनाउन परिहाल्यो नि ।” गोरखाका युवा ज्योतिष हरि सोडारीलाई पनि पात्रो सुधार गर्नु पर्छ भन्ने लागेको छ । उहाँ भन्नुहुन्छ, “तर दशैंलाई मात्रै निशाना बनाउनु भएन नि ?” हाम्रा चाडबाडहरु मौसममा पनि आधारित हुने भएकाले त्यसलाई पनि विचार गर्नु पर्ने उहाँको भनाई छ ।

सोडारीको तर्क छ, “पर्व र पात्रो सुधार भन्दै हचुवाा भरमा भदौमा दशैं मनाउने हो भने धान गोड्न जाने कि दशैं मान्ने ?” पर्व सुधारका लागि भन्दै हिजो भदौ २५ गते घटस्थापना गरेकाहरुले आउँदो असोज ३ गते भाद्र शुक्ल दशमीका दिन टीका लगाएर दशैं मनाउने छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *