Sajhamanch Archive

योजना भवन मापदण्ड अनुसार भवन निर्माण गर्न मेची नगरपालिकाको आग्रह

Published: (Updated: ) in स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरवासीलाई योजना भवन मापदण्ड २०७४ अनुसार भवन निर्माण तथा सहकारी संस्थाहरुलाई विवरण पेश गर्न आग्रह गरेको छ ।

नगर क्षेत्रभित्र ब्यक्ति तथा संघ —संस्थाहरुले घर नक्शा नगरपालिकाबाट स्वीकृत नलिई भवन निर्माण गरेको, भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम प्राप्त निर्माणकर्मीहरुबाट मात्र भवन निर्माण गर्ने गराउने गरिएको भएपनि पछिल्लो समय सो नगरेको गुनासो बढेपछि सार्वजनिक सूचना जारी गरी नगरपालिकाले नगरवासीमा यस्तो आग्रह गरेको हो ।

नगरका प्रमुख प्रशासकिय अधिकृत सहदेव रायमाझीले जारी गरेको सार्वजनिक सूचनामा अनाधिकृतरुपमा धमाधम भवन निर्माण भइरहेको, नगरपालिकाबाट स्वीकृत नलिई भवन निर्माण गरेको, भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम प्राप्त निर्माणकर्मीहरुबाट भवन निर्माण नगरिएको र कसैले नियम विपरीत निर्माण कार्य गरेको गराएको भए यस प्रकृतिको निर्माण कार्य तत्काल बन्द गर्न र नियम अनुसार गर्न गराउन उल्लेख छ ।

कसैले नियम विपरीत निर्माण कार्य गरेको गराएको, भवन निर्माणको सूचीकृत समुहमा रहेर भवन निर्माणको सम्झौता गरी अनाधिकृत व्यक्तिलाई भवन निर्माणको जिम्मा लगाउने गरेको पाइएको हुँदा यस प्रकृतिको कार्य तत्काल रोक्न समेत नगरपालिकाले सम्बन्धित ठेकदारलाई भनेको छ । यस प्रकृतिको कार्य गरेको पाइएमा नियमअनुसार कार्वाहि हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी, साविक डिभिजन सहकारी कार्यालयमा रहेको नगरभित्रका सहकारी संस्थाहरुको विवरण मेचीनगर नगरपालिका हस्तान्तरण भई आएकाले नगरभित्रका सहकारी संस्थाहरुलाई समेत विवरण पेश गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले यस नगरक्षेत्र मातहतमा कार्य क्षेत्र भएका सहकारी संस्थाहहरुले आ—आफ्नो विनियम बमोजिम लेखा परिक्षण गराई लेखा परिक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन नगरपालिकामा पेश गर्न सहकारी संस्थाहरुलाई अनुरोध गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *